Logo

केन्यामा उहुरु केन्याटा पुनः राष्ट्रपति



काठमाडौं, २८ साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनपछि पुनः राष्ट्रपतिमा निर्वाचित भएको अधिकारीहरुले बताएका छन्।
सन २०१३देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत प्राप्त गरेका छन् ।

चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गर्दै विपक्षी समर्थकहरुलाई भने, म तिमीहरुसँगै छु। हामी एउटै गणतन्त्रका नागरिक हौं।

विपक्षीले परिणाम घोषणा हुनु अघि अस्वीकार गरिसकेको थियो। तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले परिणाम अनुमोदन गरेका छन्। केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको बताएका छन्।

विपक्षी बहुल किसुमु शहर र राजधानी नाइरोबीका किबेरा लगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन्। कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्यास प्रहार गरेको बताइएको छ। त्यहाँ रहेका बीबीसी संवाददाताले गोलीको आवाजपनि सुनिएको बताएका छन्।

कैयौं पर्यवेक्षकहरुले दश वर्ष अघिको विवादास्पद चुनावपछिको हिंसा दोहोरिने हो कि भनेर त्रास व्यक्त गरेका छन्।
त्यसबेला १,१०० भन्दा बढि केन्यालीहरुको ज्यान गएको थियो र ६ लाख विस्थापित भएका थिए। केन्याटाले शान्तिका लागि आग्रह गरेका छन्।

यो चुनाव सन १९६३ मा केन्या स्वतन्त्र हुने बेलादेखिको केन्याटा र ओडिङ्गा परिवारबीचको राजनीतिक प्रतिस्पर्धा पनि थियो।
फेरि एकपटक केन्याटा समूहले जितेको छ।



प्रतिक्रिया दिनुहोस्