Logo

अनिल झाले गरे राजपा चुनावमा जाने कुराको खण्डन, भन्छन्, “संविधान संशोधन नै बटमलाईन”



साउन २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले बाहिर सार्वजनिक भए जस्तो राजपा चुनावमा जान सहमत भएको कुरा अस्विकार गरेका छन् ।

आफ्ना माग र शर्त पूरा भएको खण्डमा मात्र चुनावमा जान राजपा सहमत हुने भएको भन्दै नेता झाले जस्तोसुकै अवस्थामा पनि राजपा चुनावमा सहभागि नहुने प्रष्ट्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अनिल झाले राजपा चुनावमा जान सहमत भनेर आएको कुराको खण्डन गरेका हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बेलामा गरिएको तीन बुँदे सहमति पालना भएको खण्डमा मात्रै चुनावमा जाने कुरा गरिएको झाले बताएका छन् । संविधान संशोधन विधेयक पनि संसदमा पेश गरेर पास गराउने आश्वासन दिएकाले चुनावमा सहभागिताका लागि सहमत भएको झाको जिकिर छ ।
“सहमति कार्यान्वयन भयो भने राजपा चुनावमा जान्छ भन्ने कुरा भएको हो ।” झाले भने । सहमति गरेर हुँदैन, काम गरेर देखाउनुपर्छ भन्दै झाले संविधान संशोधन प्रस्ताव पारित नभएको खण्डमा चुनावमा नजाने दोहो¥याएका छन् ।

संविधान संशोधन प्रस्ताव फेल भए पनि चुनावमा जाने भन्ने निर्णय संस्थागत रुपमा नभएको झाले स्पष्ट पारेका छन् । पार्टीभित्र कसैले निजी विचारका रुपमा व्यक्त गरेका कुरालाई संस्थागन मान्न नसकिने झाको तर्क छ । यथास्थितिमा राजपा चुनावमा जाँदैन ।
महेन्द्र राय यादवले चुनावमा जाने सहमति भएको भनेर भनेका छन् नि भन्ने प्रश्नमा अनिल झाले यादवको व्यक्तिगत धारणाको रुपमा व्याख्या गर्दै भने, “उहाँ कहाँ कहाँ केके भन्नुहुन्छ, उहाँको सबै भनाईको म जिम्मेवार छैन ।”

प्रधानमन्त्रीसँगको छलफलमा राजपाका माग पूरा गराउनका लागि आजभोलीमा नै सरकारले कदम चाल्ने विश्वास दिलाएको भन्दै झाले सरकारले सबै काम ग¥यो भने चाँही चुनावमा जाने बताए ।
संविधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्ने कुराले मात्रै राजपा चुनावमा जाने नजाले भन्ने कुराको टुङ्गो नलाग्ने झाको भनाई छ । संविधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गरेर मात्रै समस्याको समाधान नहुने झाले बताए ।

भारतीय विदेशमन्त्री सुश्मा स्वराजले चुनावमा जानका लागि राजपालाई दबाब दिएको भन्ने कुरा गलत भएको झाको दाबी छ । भारतीय नेतासँग भेट्नु परम्परा भएको बताउँदै झाले स्वराजले चुनावमा जाने नजाने भन्ने कुरा सोधेको तर चुनावमा जानका लागि कुनै दबाब नदिएको बताए ।



प्रतिक्रिया दिनुहोस्