Logo

बाढी पहिरोका आतङ्क, एक महिलाको मृत्यु



साउन २८, उर्लाबारी (मोरङ) । पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ ।
दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिनुभयो । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ ।
यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ ।
रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्