Logo

बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल



साउन २८, काठमाण्डौ । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु अत्याधिक प्रभावित भएपछि गृह मन्त्रालयले खोज, उद्दार र राहतमा सहयोगका लागि सबैमा अपिल गरेको छ । बाढी, पहिरो र डुवानका समस्या निम्तिएपछि मन्त्रालयले सार्वजनिक अपील गरेको उल्लेख गरेको छ ।
‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गर्दछ ।’ मन्त्रालयले भनेको छ ।

देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।
वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांकेलगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।

मन्त्रालयले खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्