Logo

देउवापछि प्रचण्ड भारत जाने, ओली फकाउने रणनीति



काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जाने भएका छन् । प्रचण्ड निकटस्थ अनुसार भ्रमणको टुंगो लागेपनि मिति पछि तय हुनेछ । भदौ ७ देखि ११ सम्म देउवाले भारत भ्रमण गरेपछि प्रच्ण्डको भ्रमणको मिति तय हुनेछ ।

देशमा प्रदेश र संसदको चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा नेपाली राजनीतिमा प्रभाव राख्ने भारतले राजनीतिक तहमा छलफललाई गति दिएको छ । बिमष्टेक सम्मेलन पारेर नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपाका शिर्ष नेतालगायत विभिन्न पक्षसँग भेटी महत्वपूर्ण कुराकानी गरेकी थिइन् । भारतले नेपालका नेताहरूलाई निम्तो गरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे वन टु वन छलफल गर्ने रणनीति समेत बनाएको बुझिएको छ ।

प्रचण्डले भारत भ्रमणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारतसँगको दूरी कम गर्ने पहल समेत गर्ने पहल गर्नेछन् । पछिल्लो समय प्रचण्डको ओलीसँग निकटता बढ्दै गएको छ । एमालेले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा माओवादी समेत रहेको छ । उनले उक्त एजेण्डामा सहमति जनाउने शक्तिसँग कार्यगत एकता हुने बताएर राजनीतिक तरंग ल्याइदिएका छन् ।

ओलीको भारतसँगको दूरी हटाउन प्रचण्डले समन्वयकारी भूमिका निभाएर देशभित्र पनि राजनीतिक सहमति निर्माण गर्ने रणनीति बनाएका छन् । देशभित्रको सत्तापक्षले चालेको संविधान संशोधनको प्रस्ताव, भारतको भूमिकालगायतमा असन्तुष्टि जनाउँदै आएका ओलीलाई फकाउन प्रचण्ड सक्रियताका साथ लाग्दै आएका छन् ।
नेपाली राजनीतिमा निकै प्रभावशाली बनेका प्रचण्डले चाल्ने हरेक रणनीतिले नेपाली राजनीतिलाई नयाँ मोड दिदै आएकोमा उनको सम्भावित भारत भ्रमण र ओलीसँगको बढ्दो निकटताले राजनीतिमा नयाँ सम्भावनाको विकास हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्