Logo

अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा सशक्तिकरणमा जोड



साउन २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छिन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा युवा तथा खेककुद मन्त्रालय र मन्त्रालयअन्तर्गतका राष्ट्रिय युवा परिषद्द्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा सशक्तीकरणमा सरकार र निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरिन् ।


राष्ट्रपति भण्डारीले “युवामा गरिने लगानीले नै देशमा आर्थिक समृद्धि हुन्छ, दिगो विकास तथा शान्ति कायम हुन्छ,” भन्दै युवा नीति, रणनीति तथा दूरदृष्टि (युथ भिजन)लाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेकी छिन् ।
युवावर्गलाई स्वदेशभित्र नै स्वरोजगारी, रोजगारी तथा उद्यमशील बनाउन उनीहरुको क्षमताअनुसारका सीप, प्रविधि र आर्थिक सहयोग प्रदान गर्न जरुरी रहेको चर्चा गर्दै उनले भनिन् । “सरकारका नीति तथा कार्यक्रम पनि युवामैत्री हुनुपर्छ ।”


राष्ट्रपति भण्डारीले गुणस्तरीय उच्च शिक्षा, प्राविधिक सीपले युवालाई व्यावसायिकता एवं उद्यमशीलता बनाउने हुँदा स्वदेशमै यी कुरा पूरा गर्न सकिएमा कामको खोजीमा युवा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, “पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा विकासका अनेक सम्भावना छ, यसलाई उचित उपयोग गर्नुपर्छ, देश विकासको नयाँ ढोका खोल्नुपर्छ, यो कार्य युवावर्गबाट मात्र सम्भव छ ।”


मन्त्रालयले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेको छ । पछिल्लो जनसंख्याअनुसार कूल जनसंख्यको ४० प्रतिशत अर्थात् एक करोड सात लाख युवा रहेका छन् ।
सो आवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा प्रतिभा÷उद्यमी सम्मान दश जना र ट्यालेन्ट हन्ट सम्मान नौजना युवालाई प्रदान गरिन् । त्यस्तै युवा र युवा दर्पणको वार्षिक अङ्क सार्वजनिकसमेत गरिएको छ ।


कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले युवा नीति, रणनीति तथा दूरदृष्टिलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई स्वदेशभित्र नै उद्यमशीलता बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवा वर्ग कुण्ठा र निराशाले होइन, उत्साह र जाँगरले स्वदेशभित्र नै आफ्नो ज्ञान, सीप उपयोग गर्नुपर्नेमा जोड दिदैं यसका लागि के गर्नुप¥यो, सरकार त्यो गर्न तयार रहेको बताए ।


मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एकवडा १० उद्यमी कार्यक्रमलाई मन्त्रालयले कार्यान्वयन गरेको जानकारी दिँदै जागिरखानुभन्दा उद्यमशील बन्न युवा आग्रह गरे ।
यसअघि अन्तराष्ट्रिय युवा दिवसमा अवसरमा आज पदयात्रा गरिएको थियो ।


राष्ट्रिय युवा परिषद्सहित विभिन्न संस्थाको आयोजनामा ‘शान्ति र समृद्धिमा युवा’ (युथ बिल्डिङ पिस) भन्ने नारासहित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा शहीदढोका पुगी पुनः राष्ट्रिय सभागृह फर्किएर टुङ्गिएको थियो । पानीका कारण पदयात्राको मार्ग छोट्याइएको थियो ।
पदयात्राको थालनी युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए ।
सन् १९९९ अगष्ट १२ मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि सन् २००० देखि विश्वव्यापी रुपमा सो दिवस मनाउँदै आइएको छ । रासस

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्