Logo

गोविन्द केसीको माग पूरा भइसक्यो, अब अनशन तोडिन्छ : शिक्षामन्त्री श्रेष्ठ



साउन २८, काठमाण्डौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले आजै नभए भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित शंखादेवी भूपू विद्यार्थी समाजले अयोजना गरेको सम्मान तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले अब केसीले केसीका माग पूरा भइसकेकाले अनशन तोडिने बताए ।

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएपछि असन्ुतष्ट देखिएका श्रेष्ठले अब झिना मसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गरेका छन् । नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बन्नुहुँदैन, श्रेष्ठले भने ।
श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्दै अब केसीले अनशन तोड्ने विश्वास लिएका छन् । यसअघि केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि गोविन्द केसी अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताए । एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमा नै विधेयक संसदीय समितिबाट पारित गराउन नसकिएको श्रेष्ठको जिकिर छ ।
अर्को सन्दर्भमा मन्त्री श्रेष्ठले अस्थायी शिक्षकको माग पूरा गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । ऋषि धमलाजिले अस्थायी शिक्षकको माग पूरा गर्न जुन आग्रह गर्नुभएको छ, त्यसलाई मैले गम्भीर रुपमा लिएको छु ।
आन्दोलनरत अस्थायी शिक्षकलाई माग पूरा गराउने आश्वासन दिदै मन्त्री श्रेष्ठले भदौ ३ गते हुने अस्थायी शिक्षकको परीक्षा अगाडि नै समस्याको समाधान गर्ने बताए । आफु अस्थायी शिक्षकको माग पूरा गराउने विषयमा सकरात्मक रहेको श्रेष्ठको दाबी छ । ढुक्क हुनुस् अस्थायी शिक्षकको माग पनि पूरा हुन्छ, शिक्षा क्षेत्रको विकृति र विसंगतिलाई पनि अन्त्य गर्छु । नेपालको शिक्षालाई गुणस्तरीय र वैज्ञानिक पद्धतिमा लैजान्छु ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले धादिङको शंखादेवी उच्च माविको स्तरउन्नतिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । धमलाले उक्त विद्यालयका लागि शिक्षा मन्त्रालयले कम्तिमा पनि २ करोड बजेट छुट्टयाउनुपर्ने माग गरे ।
आफु पढेको विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाउने र गुणस्तरीय शिक्षामा जोड दिने र त्यस विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि खेलकूद लगायत व्यक्ति विकास लगायतका विषयमा ध्यान दिने धमलाको भनाई छ ।

शिक्षा क्षेत्रको सुधारका लागि शिक्षामन्त्रीले पहलकदमी लिनुपर्नेमा जोड दिदै अस्थायी शिक्षकको माग पूरा गराउनेपर्नेमा अध्यक्ष धमलाले शिक्षामन्त्रीको ध्यानाकर्षण गराए । धमलाले गोविन्द केसीको माग तत्काल पूरा गरी अनशन तोडाउन मन्त्रीले कुनै कदम बाँकी राख्न नहुनेमा समेत धमलाले जोड दिए ।
निलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले उक्त विद्यालयलका लागि सहयोग गर्न तयार रहेको बताए । निलकण्ठ नगरपालिकाका साविकको ज्यामरुङ क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउँदै मेयर ढुङ्गानाले शंखादेवी माविको स्तर उन्नतिका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए ।
पर्यटन व्यवसायी हरी धरेल, टुकी नेपालका अध्यक्ष तथा पर्यटन व्यवसायी कमल सापकोटा, पूर्व सासंद कल्पना धमला लगायतले शंखादेवी माविको विकासका लागि विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि दाताको खोजी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शंखादेवीका विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र धमला, नवराज लम्सालले विद्यालयको गतिविधि उद्देश्य, र आगामी योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो । विद्यार्थी समाजकी सदस्य निर्मला धमलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
संस्थाका प्रचार प्रसार समितिका सदस्य ज्ञानारायण श्रेष्ठ र राजन धमलाले कार्यक्रमलाई भव्य र सभ्य पार्नका लागि व्यवस्थापन गरेका थिए ।
समाजले गरेको कार्यक्रममा विद्यालय स्थापनाकालदेखि सहयोग गर्ने सात जना व्यक्तिलाई विशेष सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मोतिलाल धमला, दुर्गाप्रसाद धमला, लालप्रसाद धमला, इन्द्रप्रसाद बोहोरा, रत्नप्रसाद लम्साल, तिलप्रसाद धमला र जयराम शर्मा दुवाडी छन् ।
साथै यस वर्षको एसइइ परीक्षामा उत्तिर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठ र प्रधानध्यापक गणेश पन्तले विद्यालयको वस्तुस्थितीको बारेमा जानकारी गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्