Logo

संविधान संशोधन प्रस्ताव पारित गर्ने दिनको जोखाना हेर्दै देउवा र प्रचण्ड, यस्तो छ असफल बनाउने ओलीको रणनीति



साउन २८, काठमाण्डौ । सरकारले आगामी मंगलबार संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने भएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका अनुसार शुक्रबार राजपासँग भएको सहमति अनुसार संशोधन प्रस्ताव मंगलबार पेश गर्ने तयारी भइरहेको बताए ।

अहिलेकै अवस्थामा प्रस्तावको पक्षमा दुई तिहाई बहुमत नआउने संकेत देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गृहकार्यमा जुटेका छन् । राजपालाई प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा सहभागि गराउने प्रयासस्वरुप शुक्रबार संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने सहमति भएपछि देउवा र दाहाल तयारीमा जुटेका हुन् ।

सरकारमा आउने तयारीमा रहेको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र कमल थापा नेतृत्वको राप्रपालाई पनि सत्तारुढ दलले मनाउने प्रयास गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालको आग्रहपछि सरकारले संविधान संशोधन विधयेक मतदानका लागि संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो ।
तर संशोधनको पक्षमा दुई तिहाइ र्पुयाएर प्रस्ताव पारित गराउन भने सरकारलाई हम्मेहम्मे छ ।
अहिले ५ सय ९२ जना सांसद छन् । संशोधन विधेयक पारित गर्न ३ सय ९५ जनाको समर्थन चाहिन्छ । तर सत्तारुढ दलहरूसँग ३ सय ५८ जना सांसद छन् ।
संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसका २०७, नेकपा (माओवादी केन्द्र)का ८२, राष्ट्रिय जनता पार्टी नेपालका २५, नेपाल लोकतान्त्रिक फोरमका १६, संघीय समाजवादी फोरम नेपालका १५, नेकपा संयुक्तका ३ र अन्य साना दलका ११ जना सांसद छन् ।

सभामुख ओनसरी घर्तीले निर्णायक मत मात्रै दिन पाउने र राजपा सांसद सञ्जय साह निलम्बीत रहेकोले सत्ता पक्षसँग ३ सय ५६ सांसद पुग्छन् ।
साना सबै दलले साथ दिए भनेपनि संविधान संशोधन विधेयक पारित गर्न थप ३९ जना जरुरी पर्छ । त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीको भूमिका निर्णायक हुन्छ ।
यसअघि संशोधनको समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले संशोधनका पक्षमा उसका कति सांसद उभिन्छन् भन्ने एकीन छैन । पशुपतिशमशेर राणा नेतृत्वमा रहेका सासंदले भने संविधान संशोधनको पक्षमा मत जाहेर गर्ने सम्भावना छ ।

सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउने प्रयास गरिरहँदा नेकपा एमालले भने असफल बनाउने तयारीमा लागेको छ । विगतदेखि नै राजपाले उठाएका माग राष्ट्रघती भएको बताउँदै आएको एमालले प्रस्ताव संसदमा पेश भए पनि त्यसलाई पारित हुन नदिने रणनीति लिएको छ ।
शनिवार मात्रै रिपोर्टर्स क्लबसँग कुरा गर्दै एमालेका नेता झलनाथ खनालले प्रस्ताव पारित हुन नदिने बताएका थिए । खनालले सरकारलाई प्रस्ताव पारित गराउन चुनौति दिदै सरकारको रणनीतिले हावा खाइसकेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्