Logo

महेन्द्र राजमार्गको नवलपरासीमा ४४ घण्टादेखि यातायात अवरुद्ध



साउन २९, काठमाण्डौ । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व –पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।
दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ ।
भासिएको सडकमा बाटो खोल्ने काम भइरहेको छ, वर्षाका कारण काम गर्न कठिनाइ छ । सोही क्षेत्रमा पहिरो खस्ने क्रम पनि निरन्तर जारी छ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
सवारी आवतजावत पूर्णरुपमा बन्द भएको छ । स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिसकेको छ । सडक सञ्चालन हुने निश्चित छैन । सडकमा पहिरो पन्छाउने र नयाँ बाटो खोल्ने काम जारी छ, यद्यपि पहिरो आउने क्रम नरोकिँदा झन समस्या भएको प्रजिअ राना मगरले जानकारी दिए ।
सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आज साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ । वर्षा रोकियो र पहिरो खस्ने क्रम रोकियो भने सडक सञ्चालन हुन सक्छ ।
दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर खस्नेक्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्