Logo

संविधान संशोधन, केसीका माग र मधेशी नेताको बाढी प्रभावित क्षेत्रमा शुन्य उपस्थितीबारे भिम रावलको प्रहार



देश बाढीका कारण प्रभावित छ । लाखौँ जनता घरबारविहिन बनेका छन् । सरकारको उपस्थिति प्रभावकारी देखिएको छैन । प्रमुख प्रतिपक्ष दल एमाले पनि सरकारको दायित्व हो भन्दै पन्छिन खोजेजस्तो देखिन्छ । अर्कोतिर गोविन्द केसीको अनशन र संविधान संशोधनको मुद्दामा सरकार अल्झिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपा एमालेका नेता भिम रावलसँग कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बाढी पिडितका लागि नेकपा एमालेले के गरिरहेको छ ?
हाम्रो पार्टीले बाढी पीडित क्षेत्रमा सबै शक्ति र संयन्त्र परिचालन गरेको छ ।

तपाई शीर्ष नेताहरु सबै राजधानी बसेर बाढी पिडितका लागि के गर्न सक्नुहुन्छ ?
व्यक्ति को गयो वा गएन भन्ने कुरा महत्वपूर्ण होइन । हाम्रो पार्टी समग्र रुपमा तराई मधेशमा केन्द्रित छ । त्यहाँका पिडित जनताको लागि तत्काल राहत र उद्धार गर्नका लागि विपक्षी दलको हैसियतले हाम्रो हातमा जे छ, त्यसलाई पूर्ण परिचालन गरेका छौँ । सरकारले जिम्मेवारीपूर्वक पिडित जनतालाई राहत र उद्धारको व्यवस्था गर्न माग पनि गरेका छौँ । मैले त संसदमा सार्वजनिक महत्वको विषय भनेर दर्ता पनि गरिसकेको छु ।

एमालेका शीर्ष नेताहरु घरदैलोमा गएर जनताको पिडामा मलम लगाउने काम गर्न सक्दैनन् ?
नेकपा एमाले घर दैलामा नै छ । को गयो भन्ने कुरा छोड्नुस् । नेकपा एमालेले बाढी पिडित जनताको उद्धारका लागि सबै शक्ति प्रयोग गरिरहेको छ । अर्को कुरा के छ भने, राज्यशक्ति कसको हातमा छ भन्ने कुराले प्रभाव पार्दछ । सरकारले हो जनतालाई राहत र उद्धारको व्यवस्था गर्ने । हामीले आफ्नो स्रोत परिचालन गरिसकेका छौँ । तर राज्यले मृतकका परिवारलाई क्षतिपूर्ति दिने राहत दिने कामलाई युद्धस्तरमा अघि बढाउनुपर्छ ।

सरकारसँगै मुख्य राजनीतिक दलको दायित्व पनि होइन र ?
हामी सबैको दायित्व हो । यसबाट पन्छिने कुरै आउँदैन । हामीले पार्टीको तर्फबाट स्वयम्सेवक खटाउने लगायतका काम गरेका छौँ । तर राज्यको साधन स्रोत नेकपा एमालेको हातमा त छैन नि । तर सरकारभन्दा एक कदम अगाडि बढेर एमालेले बाढी पिडित जनतालाई उद्धार गरेको छ । भूकम्पका बेलामा पनि हजारौँ घर बनाउने पार्टी नेकपा एमाले हो । म सरकारलाई आग्रह पनि गर्न चाहन्छु कि हरेक वर्ष किन डुबान हुन्छ भन्ने कुरा सरकारले खोजी गर्नु जरुरी छ ।

अबको दिर्घकालिन समाधानको उपाय के हुन सक्छ ?
मुख्यगरी तीनवटा समाधानका उपाय छन् । पहिलो हाम्रो देशको पर्यावरणमा प्रतिकूल असर पार्ने गतिविधि तत्काल बन्द गर्नुपर्छ । अर्को कुरा, नेपालका १ सय ५० वटा नदीनाला भारततिर बग्छन् । त्यसमा ६० ठाउँमा भारतले बाँध र तटबन्ध बनाएका कारण नेपालतिर डुबान हुने गरेको छ । तराई मधेशका जनताको हितमा छौँ भनेर आन्दोलन गर्ने पार्टीहरु एक शब्द पनि बोल्दैनन् । अब हामीले सबै कुराको अध्ययन गर्नुपर्छ । एकमत भएर समाधान खोज्नुपर्छ ।

बाढीले देश डुबानमा परेका बेला दलहरु एक हुनुपर्दैन ?
नेकपा एमाले समस्या समाधानका लागि एक हुन तयार छ । तर सरकारले नै कुनैपनि बैठकमा हामीलाई बोलाएको छैन । अब हामी प्रधानमन्त्रीलाई खोज्दै बुढानिलकण्ठ जाने ? यत्रो विपत्ति हुँदा प्रधानमन्त्रीले कुनै पनि कुरा गर्नुभएको छैन । हामी सरकारसँग मिलेर काम गर्न तयार छौँ । तर सरकारले वास्ता गरेको छैन । हामी अब बाढीका कारण भएको समस्याको समाधान खोज्नका लागि संसदमा छलफल गछौँ ।

गोविद केसीको मागका सम्बन्धमा तपाईहरु किन विपक्षमा उभिनुभएको ?
हामी विपक्षमा छैनौँ ।

प्रधानमन्त्रीले एमालेका नेताहरुसँग छलफल गर्दा कोही पनि सहमतिमा आउनुभएनछ नि ?
यो कुरा नेकपा एमाले विरोधिले गरेको कुप्रचार हो । गोविन्द केसीका मागलाई पूरा गराउनका लागि पहिलो पटक संसदमा विधेयक लैजाने पार्टी नै एमाले हो । अहिलेको सरकार दायित्वबाट पछि हट्नका लागि एमालेलाई दोष दिइरहेको छ ।

संविधान संशोधनको प्रस्ताव मंगलबार संसदमा पेश हुने भनिएको छ । एमालेले के गर्छ ?
बेसमयको डम्फु भनेको यही हो । तराई मधेश डुबानमा छ । चुनाब गर्नुपर्ने दायित्व एकातिर छ । यो सरकार भने संविधान संशोधन गर्न खोजिरहेको छ । जनताको अधिकार कटौति गर्नका लागि गरिएको संशोधन प्रस्तावलाई एमालेले कहिल्यै पनि समर्थन गर्दैन । हामी सुरुदेखि नै संविधान संशोधनको विरुद्धमा छौँ । संशोधन प्रस्ताव असफल हुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्