Logo

बाढीका कारण अहिलेसम्म १ सय १५ जनाको मृत्यु, सडक र संचार अवरुद्ध हुँदा राहत वितरण र उद्धार प्रभावित



साउन ३१, काठमाण्डौ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीन तहबाट बाढी पिडितको राहत र उद्धारको काम भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता सुवेदीले जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, क्षत्रीय तहमा क्षेत्रिय प्रशासकको संयोजकत्वमा र केन्द्रमा गृहमन्त्रीको नेतृत्वमा उद्धारको काम भइरहेको बताएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी

बाढीका कारण ३३ जिल्ला प्रभावित भएको जानकारी दिदै सुवेदीले भने, “सडक र संचार अवरुद्ध हुँदा राहत वितरण र उद्धार प्रभावित भएको छ ।” सबैभन्दा बढी डुबान रौतहट जिल्लामा भएको जानकारी दिदै सुवेदीले प्राथमिकताका आधारमा हेलिकप्टरको प्रयोग गरेर उद्धार कार्य भइरहेको दाबी गरेका छन् । राहत, खोज र उद्धारलाई प्रभावकारी बनाइएको दाबी समेत सुवेदीको छ ।
तत्काल बाढीका कारण कति क्षति भयो भनेर मूल्याङ्कन गर्न सक्ने स्थिती नरहेको सुवेदीले बताए । १४ वटा मन्त्रालयको सचिव समावेश गरेर क्षति मूल्याङ्कन समिति गठन गरिएको छ । अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको जानकारी सुवेदीले दिए । त्यस्तै २५ जना घाइते र ३८ जना वेपत्ता भएका छन् । आजदेखि डुबान क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ ।
“२ हजार ८ सय ४७ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७ सयभन्दा बढि पूर्वाधारमा क्षति पुगेको छ ।” सुवेदीले भने । विस्तृत क्षतिको विवरण क्षति मूल्याङ्कन समितिले संकलन गरिरहेका छन् ।
जिल्ला दैविक प्रकोप राहत उद्धार समितिका लागि १ करोड ९८ लाख दिइएको छ । सबै जिल्लाका लागि पर्याप्त रकम पठाइएको तर पैसाले मात्रै काम नहुने सुवेदीले बताए । अब खाद्यान्न पठाउने तयारी भइरहेको छ । कतिपय ठाउँमा पठाइसकिएको छ । तर सडक अवरुद्ध भएका कारण खाद्यान्न सम्बन्धित ठाउँमा पुग्न नसकेको सुवेदीले बताए ।

 



प्रतिक्रिया दिनुहोस्