Logo

सप्तरी पुगेर बाढीपीडितलाई प्रचण्डले भने,‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ’



श्रावण ३२, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी जिल्लाका ३०० भन्दा बढी बाढीपीडित घर परिवारलाई राहत बितरण गर्नुभएको छ ।

बुधबार दिउँसो गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिबकुमार मण्डललाई लिएर सप्तरी पुग्नुभएका अध्यक्ष प्रचण्डले सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरीटोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री बितरण गर्नुभएको हो ।

त्यसरी नै अध्यक्ष प्रचण्डले राजबिराज नगरपालिका–१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री बितरण गर्नुभएको छ । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले ‘आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्बासका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ । सरकार र पार्टीको तर्फबाट बाढी पीडितलाई राहतको व्यवस्था गरिनेछ । मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माणमा हाम्रो तर्फबाट पुरै कोशिस हुनेछ, प्रचण्डले भन्नुभयो, ‘२ वर्षअघि पहाडमा बिनासकारी भूकम्प आयो, तपाईहरुले दिल खोलेर सहयोग गर्नुभयो ।

अहिले मधेशमा बिपत्ति आएको छ, पहाड पनि त्यसरी नै तपाईहरुलाई दिल खोलेर सहयोग गरिरहेको छ । यसले हामी नेपालीमा आत्मीयता बढाएको छ, हाम्रो एकता बलियो भएको छ ।’

बुधबार नै अध्यक्ष प्रचण्डले सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको बताउनु भयो ।

राहत बितरण तथा निरीक्षणमा बोल्दै गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले उद्दार र राहतलाई प्रभावकारी बनाउन गृह मन्त्रालय जिम्मेवार भएर लागेको र बाढीले पीडित जनतालाई राहत दिन स्थानीय प्रशासन खटिरहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्