Logo

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु



काठमाडौँ, १ भदौ । काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ ।

प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको भीड लागेको छ ।

बिहानै बाघभैरवको मूर्तिलाई नजिकैको पोखरीमा विधि पूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो । कीर्तिपुरको वडा नं १ मा पर्ने उक्त क्षेत्रमा परापूर्वकालदेखि नै हुँदै आएको जनविश्वास छ ।

बाघभैरव गुठीले सञ्चालन गर्ने एकदिने जात्रामा कुनै अनिष्ट नहोस् भनेर राँगा, बोका, भेडाको बलिसमेत दिइएको छ । जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने र विभिन्न रोगबाट मुक्त भई सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको गुठीका अध्यक्ष रामबहादुर महर्जनले जानकारी दिनुभयो ।

दिनभर पूजा गरिएपछि साँझ मूर्तिलाई खटमा राखेर बाजा बजाउँदै नगर परिक्रमा गराई पुनः मन्दिरमा ल्याएपछि जात्रामा आएका भक्तजनलाई प्रसाद वितरणसमेत गरिने छ ।

वडा नं १ का अध्यक्ष हर्षमान डंगोलले ‘बाघभैरव जात्रा’ कीर्तिपुरको विशेष संस्कृति भएकाले यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने र अन्य जात्रा, पर्वको संरक्षण र प्रवर्धन गरिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम