Logo

काँग्रेसजन एक भएर लाग्नुपर्छः मन्त्री बलायर



हेटौंडा, १ भदौं/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले आगामी दिनमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेशको र केन्द्रीय निर्वाचनमा काँग्रेसजन एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस मकवानपुरको आयोजनामा बिहीबार मन्त्री बलायरको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै बलायरले आगामी दिनमा हुने निर्वाचनहरुमा काँग्रेसजनको ध्यान जानुपर्ने बताउनुभयो ।

मधेशको मुद्दा भनेको काँग्रेसको पनि मुद्दा भएकाले संविधान संशोधनको पक्षमा काँग्रेस प्रतिबद्ध भएर लाग्ने बताउँदै मन्त्री बलायरले एमालेले यो संशोधनको मुद्दामा अवरोध गरिरहेको बताउनुभएको छ ।

एमालेले आफूलाई राष्ट्रवादी चरित्र देखाउन खोज्ने भएपनि तराईको मुद्दालाई ओझेलमा पार्ने प्रयासमा लागेकाले उसलाई राष्ट्रबादी भन्न नसकिने मन्त्री बलायरले बताउनुभयो ।

अब हुने २ नम्बर प्रदेशको स्थानीय निर्वाचन र प्रदेश र केन्द्रीय निर्वाचनको लागि सरकार लागिपरिरहेको र प्रधानमन्त्री आफै कटिबद्ध भएर विभिन्न चरणको बार्ता र संवादमा जुटिरहनुभएको बताउँदै मन्त्री बलायरले निर्वाचन हुन्छ, हामीले नै गराउँछौं र यो भन्दा अगाडीको नजिर पनि त्यस्तै रहेको बताउनुभयो ।

नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछानेको सभाध्यक्षतामा भएको स्वागत तथा भेटघाट कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु अशोक शाक्य र रिता खनाल, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधीहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापतिलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्