Logo

बाढि पीडितको लागि भुकम्पीडितजस्तै प्राधिकरण गठन गर्नुपर्छ : मन्त्री मण्डल



काठमाडौं, १ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारले भुकम्प पीडितहरुको जस्तै गरि बाढी पीडितहरुको लागि राष्ट्रिय प्राधिकरण गठन गर्नुपर्ने माँग गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले बाढि पीडितहरुको लागि विशिष्ट नीति बनाउन जरुरी छ, जसरी भुकम्प पीडितहरुको लागि पूर्ननिर्माण प्राधिकरण गठन गरिएको थियो, त्यसैगरि बाढि पीडितहरुको लागि पनि प्राधिकरण गठन गर्नुपर्छ।’ उनले भने,‘मृत्तकहरुलाई २ लाखले पुग्दैन, ५ लाख पुर्याउनेबारे भोलिको क्याविनेटमा म प्रस्ताव राख्छु।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पीडितहरुको लगि उचित राहत र सहुलियतमा ऋण उपलब्ध गराउने व्यवस्था सरकारले तत्काल थाल्नुपर्ने बताए । आफू स्वयम् पनि बाढि प्रभावित जिल्लाहरुमा स्थलगत् निरिक्षणमा पुगेर फर्किएको बताउँदै मन्त्री मण्डलले थपे,‘म आँफै प्रभावित जिल्लाहरुमो पुगेर आएको छु, मोरङमा त राहत नै वितरण गरेर आएँ, स्थिति अत्यन्तै भयावह छ, सरकारले विशेष नीति ल्याएर पीडितहरुको दुखेको मनमा मल्हम लगाउनुपर्छ।’

बाढी, पहिरो प्रभावित जिल्लामा चामल, दाल, तेल र नुन लगायतका चार सामाग्रीहरु वितरण गरिएको समेत उनले जानकारी दिए । उनले थपे,‘मैले खाद्य संस्थानका डिजीसँग कुरा गरिसकेको छु, हामीकहाँ खाद्यान्नको अभाव छैन, अनुदानबाट आएका चामलहरु प्रयोग भएका छैनन ।’ यद्धपी उनले राहत वितरण प्रणाली नै भद्दा रहेको गुनासो पोखे ।

उनले वितरणको शैलीगत संरचना नै परिवर्तन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । यद्धपी उनले राहत वितरणमा सरकारले बाँडेको चामल कुहिएको पाईएको भन्ने हल्ला निराधार भएको समेत स्पष्ट पारे ।

उनले भने,‘सरकारले वितरण गरेको चामल कुहिएको छैन, यदि त्यस्तो पाईयो भने वितरणमा खटिएका कर्मचारीहरुलाई अन द स्पट एक मिनेटमै कारवाही हुन्छ, यो गलत कुरा हो, यस्ता कुरा कुनै पनि हालतमा क्षमायाचना हुन सक्दैन्।’

मन्त्री मण्डलले अब चौपाया र खाद्यान्न लगायत कुहिन सुरु हुने भएकोले सरकारले अब महामारी लगायतका संभावित स्वास्थ्य समस्याहरुलाई मध्येनजर गर्दै घुम्ती स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुपर्ने बताए ।

उनले बाढि प्रभावित जिल्लाका ९९ प्रतिशत घरहरु ध्वस्त रहेकोले घर निर्माणदेखि किसानहरुलाई समेत विशेष राहतको प्याकेज ल्याउन सरकारले ढिलाई गर्न नहुने धारणा राखे ।

यस्तो मौका छोपेर कृत्रिम अभाव र कालोबजारी फस्टाएकोले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न समेत सरकार लागिपरहेको मन्त्री मण्डलले स्पष्ट पारे । उनले थपे,‘कृत्रिम अभाव गर्ने र कालोबजारी गर्नेहरुलाई हामी कुनै पनि हालतमा छोड्दैनौं, यसको लागि सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्