Logo

सूचनाको हकका अभियानकर्मी पुरस्कृत (फोटोफिचर)



काठमाडौँ, २ भदौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकका अभियन्ता र सूचना अधिकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

दशौँ राष्ट्रिय सूचना दिवस– २०७४ का अवसरमा आयोगले यहाँ आज सूचना अभियानकर्मी तथा सूचना माग कर्ता मुकेशकुमार कुशवाहा (बारा), नमस्कार शाह (बाँके), सर्फुल्लाह अन्सारी (बारा), शेरबहादुर सार्की (बाजुरा) र राजु ढकाल (महोत्तरी) लाई पुरस्कार तथा सम्मान प्रदान गरेको हो । पुरस्कारको राशि जनही रु ३० हजार रहेको छ ।

त्यसैगरी आयोगले सूचना अधिकृत तथा सूचना आपूर्तिकर्ता मुद्रण विभागका उपसचिव पदमराज पाठक, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धीरेन्द्र भण्डारी, कृषि विकास मन्त्रालयका उपसचिव टीकाराम शर्मा, केन्द्रीय तथ्यांक विभागका उपसचिव प्रमोदराज रेग्मी र गृह मन्त्रालयका उपसचिव भविश्वर पाण्डेलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

आयोगले सूचना आयोगमै कार्यरत शाखा अधिकृत विक्रम शर्मा, सुभास न्यौपाने र प्रमिता शर्मालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ ।

पुरस्कार प्रदान गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले सूचनाको हकले राज्य व्यवस्थालाई व्यवस्थित गर्नुका साथै राज्यका काम कारबाहीलाई पारदर्शी बनाउने हुँदा त्यसको कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालको संविधानमै सूचनाको हकलाई प्राथमिकताका साथ उल्लेख गरेका सन्दर्भमा त्यसलाई व्यावहारिकरूपमा कार्यान्वयनमा जोड दिनु पर्छ भन्नुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्ने र तत्कालै प्रादेशिक सूचना आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिमिल्सिना र फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हक पत्रकार वा सञ्चारकर्मीसँग मात्र सम्बन्धित नरहेको भन्दै सबैलाई सूचनाको हक प्रयोग गर्न आग्रह गर्नुभयो ।

आयोगमा आर्थिक वर्ष २०७३÷०७४ मा सूचनाको हकसम्बन्धी ४९७ वटा पुनरावेदन परेकामा ४४४ वटा फछ्र्यौट भएको बताइएको छ । आव २०७२÷०७३ मा ६७८ वटा पुनरावेदनमध्ये ६७४ फछ्र्यौट भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्