Logo

राहत र उद्दारमा खटिएका सिताराम कट्टेलले आफ्नो अनुभव यसरी सुनाए



म यतिखेर महोत्तरी जिल्लामा छु । आज सप्तरी जिल्लामा जाने तयारीमा छौँ । म मानवीय धर्म निर्वाह गर्नका लागि वाढी पिडितलाई सहयोग गर्न आएको हुँ । प्राकृतिक प्रकोप बाजा बजाएर वा सुचना दिएर आउने चिज होइन । त्यसैले अकस्मिक रुपमा आएको यो विपत्तिका बेला सबै नेपालीले मानवीय धर्म निभाउनुपर्छ । एकले अर्कालाई मद्दत गर्नुपर्छ । जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्ने मनसायले नै म यस क्षेत्रमा खटिएको हुँ ।


अहिले सहयोगि हातहरु निकै बढेको महसुश गरेको छु । सुरुको दिनमा कठिन थियो । सबैतिर उद्धार गर्ने र राहतका सामग्रि पठाउने अवस्था थिएन । बाटोघाटो पनि थिएन । बाटो बन्द थियो । घरहरु डुबेका थिए । अहिले सहज बन्दै गएको छ ।
सरकारी निकायले के ग¥यो वा गरेन भन्नेतिर म जान चाहन्न । हामी सक्रिय भएर अगाडि बढ्नुपर्छ भन्ने मनसायले काम गरिरहेका छौँ । प्रधानमन्त्री तथा मन्त्रीहरु पनि बाढी प्रभावित क्षेत्रमा आएको समाचारबाट थाहा पाएँ । यद्यपी धेरैजसो समय त म संचारमाध्यमबाट टाढा रहेर पनि काम गरेँ । अर्को कुरा मैले जे जति गरेको छु, त्यो सबै सरकारकै अभिन्न अङ्ग भएर काम गरेको महसुश गरेको छु । किनकी, म सरकारको सरसफाई दुत हुँ । यसअर्थमा सरकार र जनता दुवैपक्षको प्रतिनिधि पात्र हुँदै म बाढी प्रभावित क्षेत्रमा सक्रिय छु ।


प्रधानमन्त्री तथा मन्त्रीहरु बाढी प्रभावित क्षेत्र कहाँ कहाँ पुगे भन्ने भन्दा पनि हामी कहाँ कहाँ पुग्यौँ भन्ने कुरा महत्वपूर्ण हो ।
हाम्रो उद्धारको यात्रा महोत्तरीबाट सुरु भएको थियो । महोत्तरी, सर्लाही, धनुषा, सिराहा, सप्तरी, मोरङ, झापा हुँदै आज हामी फेरी सप्तरीतिर प्रस्थान गर्ने क्रममा छौँ । म गएको सबैजसो जिल्लामा बाढीले धेरै प्रभाव पारेको छ । क्षतिको हिसाबले अलि बढि सप्तरी जस्तो लाग्छ । रौतहट पनि अत्यन्त प्रभावित जिल्ला हो । मोरङ, झापा, महोत्तरी लगायतका धेरै जसो जिल्लामा क्षति पुगेको छ । समग्रमा तराईका बाढी प्रभावित सबै जिल्लामा क्षति पुगेको छ ।
हामी गएको जति क्षेत्रमा अब उद्धारको काम करिब करिब सकिएको छ । अब राहतमा जुट्नुपर्ने बेला आएको छ । तर राहतमा कुन–कुन सामाग्रि लैजाने भन्नेमा अन्यौल हुनसक्छ । के कस्ता सामग्री राहतमा समेट्ने भन्ने सुझाब दिन चाहन्छु ।


राहतमा खाद्य सामग्रीसँगै लत्ताकपडाको पनि आवश्यकता छ । ओड्ने, ओछ्याउने सिरक डसनाको खाँचो देखिएको छ । किनकी लत्ता कपडा सबै डुबेका छन् । कति कुहिए, कति त बगायो । त्यस्तै तराईमा सर्पको विगविगि सँधै हुने गरेको छ । यसपटक त झन धेरै सर्प निस्किएका छन् । रातको समयमा सहज होस् भनेर टर्च लाइटहरुका आवश्यकता छ । लामखुट्टेको टोकाइबाट बचाउँन र महामारी फैलिन नदिनका लागि झुलहरुको व्यवस्था गर्नुपर्छ । अनिवार्य रुपमा झुल वितरण गरिए भने रोगको महामारीले अर्को विपत्ति निम्त्याउन सक्छ ।
बालबालिकाको शैक्षिक सामग्री पनि सबै बगाएको छ । स्कुलको ड्रेस, कापी, कलम, व्याग लगायतका शैक्षिक सामग्रीको पनि अत्यावश्यक छ ।
मेडिकल टिसहित औषधि उपचारको व्यवस्था तत्काल गर्नु जरुरी छ । जताजतै दुर्गन्ध फैलिएको छ । राहतको प्याकेजमा यस्ता सामग्रि समावेश गर्नु जरुरी छ ।
राहत वितरणमा संयमता अपनाइएन भने र संबन्धित निकायले ध्यान दिएर काम गरेन भने अर्को महामारी फैलिन्छ । यदी रोगको महामारी फैलियो भने त्यसलाई रोक्न निकै कठिन छ ।
बाढी प्रभावित क्षेत्रमा धेरै घर डुबानमा परेका छन् । अब नयाँ घर बनाउनुपर्ने अवस्था छ । अब घर बनाउँदा कस्तो संरचनाको बनाउने भन्नेमा ध्यान दिनुपर्छ । यस क्षेत्रमा बाढी पटकपटक आइरहने भएकाले दिर्घकालिन योजना अनुसार घर निर्माण गर्नुपर्छ । हरेक वर्ष बाढी आउँदा क्षणिक रुपमा भावुक बनेर हुँदैन । अब पनि यस विषयमा ध्यान दिइएन भने यस्ता समस्या पटकपटक भोग्नुपर्छ । पुनःसंरचनाको विषयमा दिर्घकालिन सोचको आवश्यकता छ । घरको संरचना कस्तो बनाउने भन्ने विषयमा वैज्ञानिक ढंगले योजना बनाउनुपर्छ । विशेषगरी एकीकृत वस्ती विकासकै मोडालिटीमा काम गर्नुपर्ने देखिन्छ ।
(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा आधारित)



प्रतिक्रिया दिनुहोस्