Logo

राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने



भदौ ३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष तामाङले पार्टीभित्रका धेरैजसो नेताले विपक्षमा जाने मत जाहेर गरेकाले पार्टीले सोही अनुसार निर्णय गर्ने सम्भावना धेरै रहेको बताए । मकवानपुरको हेटौँडामा भइरहेको केन्द्रिय समितिको बैठकमा अधिकांश नेताले संविधान संशोधन जरुरी नरहेको तर्क गरेको तामाङको दाबी छ ।
यसअघि पार्टी नफुट्दा पनि संविधान संशोधनको पक्ष वा विपक्षमा जाने विषयमा निर्णय भैनसकेको दाबी गर्दै तामाङले भने, “यसअघि पनि कार्यसम्पादन समितिले केन्द्रिय समितिलाई संविधान संशोधनको विषयमा निर्णय गर्ने जिम्मा दिएको थियो ।” अहिले पार्टीभित्र विभाजन भइसकेको अवस्थामा संविधान संशोधनको विषयले नयाँ मोड लिनु सामान्य भएको उपाध्यक्ष तामाङको तर्क छ ।
अहिलेको सरकार राप्रपा फुटाउने काममा लागेको आरोप समेत तामाङले लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिला नै संविधान संशोधनको वातावरण बनाउन नसकेको भन्दै तामाङले भने, “शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि आवश्यक मत थियो । त्यसबेला तत्काल संविधान संशोधन प्रस्ताव गरेको भए पारित हुन्थ्यो ।”
तर अहिले सरकार नै राप्रपा फुटाउन लागि परेको तामाङले आरोप लगाए । नेपाली कांग्रेस समत राप्रपा फुटाउनमा सक्रिय रहेको तामाङले बताए ।



प्रतिक्रिया दिनुहोस्