Logo

राजधानीमैं पुलको यस्तो विजोग, पक्की पुल भत्काएर खोलामा प्लाईको पुल



ललितपुर (महालक्ष्मी) ३, भाद्र । महालक्ष्मी नगरपालिका वडा नं. २, मा पर्ने कर्मनासा खोलामा पक्की पुल नहुदाँ हजारौं स्थानीय जनताले सास्ती खेप्न बाध्य हुनु परेको छ । राजधानी काठमाडौंसँगै जोडिएको कर्मनासा खोलामा पक्की पुल निर्माण गर्न स्थानीय प्रतिनिधि र निर्माण कम्पनीले ढिलाई गरेपछि जनआक्रोश बढ्दो छ ।

‘कर्मनासा खोलामा पहिले पक्की पुल थियो, पछि त्यसलाई व्यवस्थित गर्ने नाममा ठेकेदार कम्पनीले पक्की पुल भत्काएर सामान्य डण्डीको भरमा प्लाईको पुल बनाएर त्यसै छाडिदिएको छ’– स्थानीय लक्ष्मण श्रेष्ठले भने । बलियो पुल नहुँदा खोला तर्न समस्या भएपछि थुप्रै पटक स्थानीय जनताले यहाँका स्थानीय

प्रतिनिधिसँग गुनासो गर्दा पनि सुनुवाई भएको छैन । स्थानीय प्रतिनिधि र ठेकेदार कम्पनीले बेवास्ता गरेपछि जनताले वर्षायाममा खोला तर्न समस्या भोग्नु परेको हो । वर्षात्को बेला प्लाईको पुलमा आउजाउ गर्दा थुप्रै स्थानीय खोलामा लडिसकेका छन् ।

व्यवस्थित पुल बनाउने भनेर निर्माण कम्पनी जागृती पूर्णचण्डी जेभीले गत जेठमा पक्की पुल भत्काएर प्लाईको पुल हालेको थियो । स्थानीय डा. बिविसा बानियाँले भने,– ‘भएको पुल भत्काएर प्लाईको पुल त बनाए, तर त्यसपछि पुल बनाउन कोही देखिएन’ । प्लाईको पुल बनाउनुअघि कर्मनासा खोलामाथि बनेको पक्की पुलमा सवारीका साधनसमेत चल्ने गर्थे । बानियाले भने,– ‘अहिले त पैदल हिड्न पनि गाह्रो छ ।’

जागृती पूर्णचण्डी जेभी नामको निर्माण कम्पनीले एक करोड बीस लाखमा पुल बनाउने ठेक्क लिएको थियो । ‘नयाँ पुल बन्ने त परै जाओस् भएको पुल पनि भत्काएर निर्माण कम्पनी नै खै कता हरायो’– स्थानीय श्रेष्ठले भने । पुल भत्काएर अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही गर्न समेत स्थानीयले माग गरेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं. २, का वडा अध्यक्ष रामबहादुर केसीले जनताको समस्याप्रति संवेदनशील रहेको भन्दै पुल निर्माणको काम तत्काल सुरु गर्ने आश्वासन दिएका छन् । ‘कर्मनासा खोलामा पक्की पुल नभएर जनताले दुःख पाएका छन्, मैले पुल निर्माणको कार्य तत्काल अघि बढाउछु’– वडा अध्यक्ष केसीले भने ।

तस्विर : ईश्वर कार्की 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम