Logo

संकट समाधानको लागि राष्ट्रपति भण्डारीले अघि सारिन चार बुँदे रोडम्याप



शीर्ष नेताहरुले भने,‘उहाँको मार्गनिर्देशन हामी शिरोधार्य गर्छौं’

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बैठकमा प्रमुख तीन दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित बैठक सम्पन्न भएकोछ ।

राष्ट्रपति निवास शितलनिवासमा भएको करिब २ घण्टा लामो छलफलमा राष्ट्रपति भण्डारीले बाढी पीडितहरुको लागि राहत दिनेमात्रै काम नगरेर अब उचित वस्ती विकास बसाल्नतिर सरकारले विशेष ध्यान दिनुपर्ने सुझाएका छिन्।

त्यस्तै उनले नदिनाला र बाँध लगायत समस्याहरुको दिगो समाधान खोज्न दलका नेताहरुलाई आग्रह गरेकी थिईन । छलफलमा राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीति राष्ट्रिय एकता र सहमतिमा चल्नुपर्नेमा समेत जोड दिएकी थिईन ।

त्यस्तै राष्ट्रपति भण्डारीले संविधान संशोधनजस्तो विषयमा संसद विभाजित गर्न नुहने समेत सुझाव दिईन् । उनको भनाई उद्धृत एक नेताले भनिन्,‘संशोधन प्रस्ताव सर्वसम्मतीले पारित गर्नुहोस, यसो भयो भनेमात्रै निकास दिन्छ, दुई तिहाई मात्रै नभएर निकास हुँदैन्।’

प्रधानमन्त्री शेरबहादुर देउवाले भण्डारीको प्रस्ताव अत्यन्तै सकारात्मक भएकोले आफूहरुले त्यसलाई सकेसम्म छिट्टै कार्यान्वयन गराउने वचन दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली संशोधन प्रस्तावलाई आफूहरुले कुनैपनि हालतमा नरोक्ने तर प्रस्ताव पारित हुन नदिने स्प्ष्ट पारेका थिए । उनले बैठकमा संशोधन प्रस्ताव अब चुनावपछि मात्रै अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै उनले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको बेलामा बाँधको बारेमा भारतसँग खुलेर कुरा गर्न आग्रह गरेका थिए ।

शितल निवास स्रोतले दिएको जानकारी अनुसार संविधान संशोधन, निर्वाचन र बाढी पीडितहरुकोबारे केन्द्रित रहेर छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल थिए ।

त्यस्तै एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए । यता नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्