संशोधनमा एमालेलाई विश्वासमा लिने प्रयत्न भइरहेको छ : मन्त्री बस्नेत


रुपन्देही ९तिलोत्तमा०, ३ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधनको मुद्दामा प्रमुख प्रतिपक्षि दल नेकपा ९एमाले०लाई पनि विश्वासमा लिएर अगाडि बढ्ने प्रयत्न भइरहेको बताउनुभएको छ ।

बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको दशौं वार्षिकोत्सव समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री बस्नेतले संविधान संशोधनको विरोध गरिरहेको एमालेलाई मुलुकको राष्ट्रिय आवश्यकताका बारेमा विश्वस्त गराउन सरकार लागिपरेको बताउनुभयो । उहाँले मधेशी मोर्चा नआएपनि प्रदेश नं २ मा आगामी असोज २ गते हुने चुनाव रोकिंदैन भन्नुभयो ।

मन्त्री बस्नेतले तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन तथा प्रदेश र केन्द्रको चुनाव सम्पन्न भएपछि राजनीतिक मुद्दा सकिने र मुलुक आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने धारणा समेत राख्नुभयो ।

सूचनाको हक सबै नागरिकको अधिकार संविधानमा सुनिश्चित गरिएकाले त्यसको सफल कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चार क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहने उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग देशको विकास, गौरव र पहिचानसँग जोडिएकाले त्यसको निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले राजनीतिक परिवर्तनमा अहम् भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सांसद डा कृष्णबहादुर छन्त्यालले पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गरी निश्पक्षता कायम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा टेलिभिजनले स्थापना गरेको गणेशमान स्मृति गौतमबुद्ध शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार दिलिप भट्टराईलाई सम्मान गरियो । सो पुरस्कारको राशि रु पाँच हजार रहेको छ । त्यस्तैगरी गायिका हरिदेवी कोइराला, पत्रकार बिन्दुकुमार चौहान र कमल थापालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस