Logo

‘चुल्ठो काट्ने’ घटना तराई क्षेत्रमा पनि !



 

काठमाडौं ५ भदौ । भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो) काट्ने घटनाले पर्सा र बाराका महिलामा त्रास छाएको छ ।

साउन २९ देखि भदौ ३ गतेसम्म पर्सा र बारामा २० महिलाको चुल्ठो काटिएको घटना सार्वजनिक भएको छ । साउन २९ गते एक जना, ३२ गते एक जना, भदौ १ गते ६ जना, २ गते ७ जना र भदौ ३ गते पाँच जना गरी साताभित्रै २० महिलाको चुल्ठो काटिएको घटना प्रहरीसमक्ष आएको पर्साका एसपी सुदीप गिरीले बताए ।

वीरगन्ज महानगरपालिका १६, नगवाकी ३० वर्षीया बगडी चमारिन साउन २९ गते चुल्ठो काटिएर बेहोस अवस्थामा नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि घटना सार्वजनिक भएको थियो ।

त्यसयता दिनहुँ पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना बाहिर आइरहेको छ । प्रहरी उपरीक्षक गिरीका अनुसार भदौ ३ गतेसम्म सार्वजनिक भएका २० वटा घटनामध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउकोको पछाडिपट्टिको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोस् भएको र होसमा आउँदा कपाल काटिएको थाहा पाएको बताएका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्