Logo

कांग्रेस र माओवादीका देशभक्त सासंदले संविधान संशोधनको विपक्षमा मतदान गर्छन् : भिम रावल



आज संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुने कार्यक्रम छ । नेकपा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने अडान लिदै आएको छ । यस्तो अवस्थामा संशोधन हुने सम्भावना कमजोर देखिन्छ । नेकपा एमालेले किन संविधान संशोधन गर्न चाहदैन ? यसै विषयमा ऋषि धमलाले एमालेका उपाध्यक्ष भिम रावलसँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमालेका सासंदले संविधान संशोधनको पक्ष वा विपक्ष, केमा मतदान गर्छन् ?
नेकपा एमालेका सबै सासंदले संविधान संशोधनको विपक्षमा मतदान गर्छन् । प्रस्ताव असफल हुन्छ ।

किन विपक्षमा मदतान गर्ने ?
यो प्रस्ताव तराई मधेशका रैथाने जनताको हित विपरित छ । बाह्य इसारामा ल्याइएको प्रस्ताव हो । नेपालको सामाजिक सद्भाव विथोल्नका लागि ल्याइएको प्रस्ताव हो । यो प्रस्तावले नेपाल राष्ट्रलाई कमजोर बनाउँछ । त्यसकारण तराई मधेशका अधिकांश जनतासमेत यो प्रस्तावको विरुद्धमा छन् । नेकपा एमाले तराई मधेशका जनताको हक अधिकार सुरक्षित गर्न चाहन्छौँ ।

संविधान संशोधन गर्न सकियो भने तराई मधेशका जनताको हित गर्छ भनेर महन्थ ठाकुरलगायतका नेताहरुले भनिरहेका छन् ।
त्यो एकदमै गलत प्रचार हो । संविधान संशोधन केवल अहिलेका गठबन्धन सरकारका नेताहरुले सत्ता र स्वार्थको लागि ल्याएका हुन् ।

मधेशी जनतासमेत संविधान संशोधनको पक्षमा भएको बेला एमाले त्यसको विपक्षमा जान मिल्छ ?
मधेशी जनता संविधान संशोधनको पक्षमा छैनन् । स्थानीय तहको चुनावको नतिजाले नै हामीले बोकेको एजेण्डा सही छ भन्ने प्रमाणित गरिसकेको छ ।

त्यसो हो भने सरकारले किन संविधान संशोधन गर्न खोजेको होला ?
नेपाली कांग्रेसले जनताको हितका लागि संविधान संशोधन गर्न खोजेकै होइन । यो त वाह्य इशारामा ल्याइएको प्रस्ताव हो । अरुको इशारामा नेपाली जनतालाई कमजोर बनाउनका लागि सरकारले संविधान संशोधन गर्न लागेको हो ।

मधेशको अधिकार सुनिश्चित गर्नका लागि ल्याइएको प्रस्ताव होइन र ?
तराई मधेशको मैथिली, भोजपुरी भाषालाई कमजोर बनाएर हिन्दी भाषा लाद्न खोजिएको छ । यसो गर्दा कसरी तराई मधेशका जनता बलिया हुन्छन् ? निर्वाचित प्रतिनिधि र प्रदेशको अधिकारलाई कटौति गर्न खोजिएको छ । यो त हास्यास्पद कुरा हो ।

गोप्य मतदान भयो भने त एमालेका पनि कतिपय सासंदले संविधान संशोधनको पक्षमा मतदान गर्छन् भनिन्छ नि ?
मनको लड्डु घिउसँग जति खाए पनि हामीलाई केही फरक पर्दैन । बरु कांग्रेस र माओवादीका देशभक्त सासंदहरु एमालेको पक्षमा आउँने सम्भावना छ ।

एमाले पार्टी किन मधेशविरोधी भएको हो ?
नेकपा एमाले मात्र यस्तो पार्टी हो, जुन सरकारमा जाँदा तराई मधेशका लागि सबैभन्दा धेरै विकासका कार्यक्रम र बजेट दिएको छ । अहिलेको सरकारका गठबन्धन दलहरु चाँही तराई विरोधी हो ।



प्रतिक्रिया दिनुहोस्