Logo

पुरुष फुटबलकी महिला रेफ्री बिबियाना



बर्लिन, ५ भदौ । शुक्रबारदेखि सुरु भएको जर्मन बुन्डेस लिगाको नयाँ सिजनको आगामी खेलहरूमा महिला रेफ्रीले पुरुष टोलीलाई खेलाइरहेको दुर्लभ दृश्य देख्न पाइने भएको छ ।

जर्मनीको दोस्रो डिभिजनमा एक दशक बिताएपछि बिबियाना स्टेनहस युरोपकै प्रतिष्ठित लिगमध्येको एक बुन्डेस लिगामा पुरुषको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनेकी हुन् ।

पहिलो खेल खेलाएसँगै बिबियानाले बुन्डेस लिगामा पुरुषको खेल खेलाउने पहिलो महिला रेफ्रीको इतिहास पनि रच्नेछिन् । बिबियानालाई जर्मन फुटबल महासंघले हालै बुन्डेस लिगाको २४ जनाको रेफ्री इलाइट प्यानलमा बढुवा गरेको थियो । ‘रेफ्री महिला वा पुरुष जे भए पनि उसको एकमात्र उद्देश्य बुन्डेस लिगाका खेल सफलतापूर्वक सञ्चालन गर्नु नै हो ।

मैले पनि त्यही उद्देश्य पूरा गर्न धेरै मेहनत गरेकी छु । यसका लागि मैले थुप्रै अवरोधहरू पनि पार गरेकी छु’, गत मेमा बुन्डेस लिगाको इलाइट रेफ्री प्यानलमा बढुवा भएपछि ३८ वर्षीया बिबियानाले भनेकी थिइन्, ‘मप्रति विश्वास देखाएकोमा रेफ्री कमिसनलाई धन्यवाद पनि दिन चाहन्छु ।’

बिबियानाका पिता पनि रेफ्री नै हुन् । बिबियानाले सन् १९९९ मा महिलाको खेलमार्फत रेफ्रीको भूमिका निर्वाह गर्न थालेकी हुन् । उनी सन् २००५ मा फिफा रेफ्री बनेकी थिइन् भने त्यसको दुई वर्षपछि जर्मनीको दोस्रो डिभिजनको लिगका लागि छनोट भएकी थिइन् ।

उनी त्यसबेला जर्मनीको व्यावसायिक फुटबलमा पहिलो महिला रेफ्री बनेकी थिइन् । त्यसयता बिबियानाले महिला विश्वकप र युरोपियन च्याम्पियनसिपका खेलहरू पनि खेलाइसकेकी छिन् ।

बिबियानाले सन् २०१२ मा भएको लन्डन ओलम्पिकअन्तर्गत महिलातर्फको स्वर्ण पदकका लागि भएको अमेरिका र जापानबीचको फाइनल खेलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । यसैगरी उनले गत जुनमा सम्पन्न महिलाको च्याम्पियन्स लिगअन्तर्गत लियोन र पेरिस सेन्ट जर्मन ९पीएसजी० बीचको खेल पनि खेलाएकी थिइन् ।

जर्मनीको प्रहरी अधिकृतसमेत रहेकी बिबियानाले पुरुषको खेल भने यसअघि नै खेलाइसकेकी छिन् । गत शनिबार जर्मन कपअन्तर्गत बार्यन म्युनिखले चेम्निजर एफसीविरुद्ध खेल्दा उनी रेफ्रीको भूमिकामा थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot