Logo

रामेछापको बाम्तीभण्डारको रोसीमा पहिरोको समस्या



रामेछाप, ५ भदौ । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका बाम्तिभण्डार २ स्थित रोसी बस्तीमा अविरल वर्षाका कारण खहरे खोल्सा उर्लेर गाउँमा पसेकाले रोसीवासी रातभरी त्रासमा बस्न बाध्य भएका छन् ।

गएरातिदेखिको अविरल वर्षाका कारण २०७२ सालको भूकम्पले हल्लाएको जमिनमा पानीले गलेर घर छेउका काल्लामा पहिरो खस्दा स्थानीयबासी रातभर अनिदो बस्नुपरेको स्थानीय शिक्षक मणिबहादुर बस्नेतले बताउनुभयो ।

केही वर्ष अगाडि देखिनै त्यस क्षेत्रमा पहिरोको समस्या बढ्दै गएकाले कतिपय स्थानीयवासी भने अन्यत्र बसाइँ सरिसकेका छन् ।
मानवीय क्षति केही नभए पनि रोसीकै रामबहादुर बस्नेतको घर नजिकैमा पहिरो खस्दा कखुराको खोर र सुनिल बस्नेतको भर्खरैको गाईको बाच्छो किचेको छ ।

यसैबीच उमाकुण्ड गाउँपालिकाकै गुम्देमा गएरातिदेखिको अविरल वर्षाले गुम्देल र क्यामाको बीचमा सडकको ठाउँठाउँमा पहिरो खस्दा सड्क अवरुद्ध भएकाले विद्यार्थी र स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । तत्काल सो बाटोलाई चालु गर्न उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले रु ५० हजार खर्च गरी बाटो खुलाउ लागेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्