Logo

नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्छ: प्रधानमन्त्री देउवा-फोटोफिचर



काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको छ । त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै विदेशमा गएका नेपाली छोराछोरीलाई स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक दलभित्र एकता र स्थायित्व भएपछि मुलुकले अगाडि बढ्ने बताउँदै सङ्घ र प्रदेशको निर्वाचनपछि मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुने दाबी गर्नुभयो । उहाँले संविधानको सफल कार्यान्वयनका लागि दुवै चुनाव आवश्यक भएको धारणा राख्नुभयो ।

“माघ ७ गतेभित्र दुवै निर्वाचन गराउन पर्छ”, उहाँले भन्नुभयो, “दुवै निर्वाचन भएपछि संविधान कार्यान्वयन पनि हुन्छ । अनि देश मुलुक सफल राष्ट्रतर्फ उन्मुख हुन्छ ।”उहाँले संविधान कार्यान्वयनपछि सबैका अधिकार स्थायी हुने भन्दै अब कसैले पनि संघीय गणतान्त्रिक अधिकार खोस्न नसक्ने बताउनुभयो ।

देशको ठूला राजनीतिक परिवर्तनमा त्रिचन्द्र कलेजले अग्रणी भूमिका खेलेको भन्दै पढाइमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बखतमा त्रिचन्द्र कलेजलाई सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा प्रदीपबहादुर न्यौपानले शिक्षाको क्षेत्रमा कलेज देशकै नमूना कलेजका रुपमा स्थापित भएको बताउनुभयो । समारोहमा प्रधानमन्त्री देउवाले साहित्यकार सत्यमोहन जोशी, नरकान्त अधिकारी तथा प्राध्यापक पुरुषोत्तम सिंह डंगोल,दीपककृष्ण श्रेष्ठ, डा रोशनी मैँया श्रेष्ठ, विष्णु डंगोलसहित १६ जना उपप्राध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।

विसं १९७५ भदौ ५ गते तत्कालीन चन्द्रशमशेर राणाले त्रिचन्द्र क्याम्पसको स्थापना गर्नु भएको थियो । रासस तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्