Logo

नेपालको व्यापार घाटाले ९ खर्ब काट्यो



काठमाडौं, ५ भदौ । नेपालको ब्यापार घाटा झण्डै १० खर्व पुगेको छ । गत आर्थिक वर्ष २०७३–७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा भएकोमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ ।

गत वर्ष निर्यातको तुलनामा आयात बढ्दा देशको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा १ खर्ब २५ अर्ब रहेको छ भने अन्य मुलुकसँग १ खर्ब ९९ अर्ब रहेको छ ।

रेमिट्यान्स भित्रने दरमा आएको सुस्ति र निर्यात बढेको कारण देशको शोधानान्तर बचत पनि घटेको छ । अघिल्लो आवमा १ खर्ब ४० अर्ब नाफामा रहेको चालु खाता गत आवमा भने १० अर्ब १३ करोडले घाटामा गएको छ । अघिल्लो आवमा १ खर्ब ८८ अर्ब रुपैयाँ शोधानान्तर बचतमा रहेको गत आवमा भने घटेर यस्तो बचत ८२ अर्बमा सिमित छ ।

नेपालको कुल गाहस्र्थ उत्पादन (जीडीपी) को तुलनामा व्यापार घाटा ३५ प्रतिशत रहेको छ । जीडिपीको ३८ प्रतिशत आयात र २.८ प्रतिशत निर्यात भएको देखिन्छ ।

देश भित्र्ने रेमिट्यान्समा भने गत वर्ष ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवमा बैदेशीक रोजगारीमा गएकाहरुले ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका हुन् । अघिल्लो आवमा भने देशमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

देशमा विदेशी विनिमयको सञ्चिती १० खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.९ प्रतिशतले बढेको हो । देशमा रहेको यो सञ्चितीले ११.४ महिनाको बस्तु तथा सेवा आयात धान्ने अवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्