Logo

काठमाण्डौ नेशनल कलेजलाई दिइएको सम्बन्धन खारेज नभए आन्दोलन गछौँ : मुक्ति श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ



काठमाण्डौ नेशनल कलेजलाई मेडिकल कलेज संचालनका लागि सम्बन्धन दिइएपछि सबैतिर विरोध भइरहेको छ । आवश्यक पूर्वाधार विना र डा. गोविन्द केसीसँग भएको सम्झौताविपरित सरकाले सम्बन्धन दिएको भन्दै विरोध भएको हो । यसै सम्बन्धमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

काठमाण्डौ नेशनल कलेजलाई सम्बन्धन दिइएको छ । यसमा तपाईहरुको धारणा के हो ?
सरकारले बदमासीको सिमा नाघेको हो । हामीले गोविन्द केसीको अनशन स्थगित गरायौँ । हामीसँग ९ पटक सम्झौता भएको छ । पूर्वाधार नपुगेको मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने सम्झौता भएको थियो । तर राज्यले सम्झौताको उल्लङ्घन गरेको छ । विना पूर्वाधार एउटा अपार्टमेन्टमा संचालन भइरहेको मेडिकल कलेजलाई स्विकृति दिदै जाने हो भने गुणस्तरीय चिकित्सा शिक्षा जिरोमा झर्छ । हिजोका दिनमा गरिएको सम्झौताको विरुद्ध सरकारले काम गरेको छ ।
नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिइएको विषयको अन्तरवस्तु के हो ?
मेडिकल कलेज संचालनको लागि चाहिने जनशक्ति र पूर्वाधार विना नै सम्बन्धन दिइएको छ । त्यसैले यो अत्यन्त गलत काम हो । यसको विरोधमा नेपाल चिकित्सक संघले आन्दोलन गर्छ । उक्त सम्बन्धन खारेज गर्नुपर्छ भन्ने हाम्रो माग छ ।

तपाईहरुको विरोध त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँविरुद्ध हो ?
हामी कोही व्यक्तिको विरुद्धमा छैनौँ । जुन गलत निर्णय भएको छ, त्यसको विरोध हामीले गरेका हौँ । नेशनललाई सम्बन्धन दिने कुरा तिर्थ खनियाँले चाहेर मात्रै भएको पनि होइन । खनियाँले त आफुमा आएको २ वटा रिपोर्टको आधारमा समितिले निर्णय गरेको बताउनुभएको छ । त्यसैले सम्बन्धन दिने विषयमा जोजो संलग्न छन्, ति सबैलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

सम्बन्धन दिएको विषयमा विरोध गर्नुपर्ने खास कारण चाँही केके छ ?
पहिलो कुरा त पूर्वाधार विनाको संस्थालाई मेडिकल कलेज संचालनका लागि मान्यता दिइनु गलत हो । अनुचत सम्बन्धन दिनु गैर जिम्मेवारी काम हो । यसलाई सच्याउन जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्