Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल बनाउनका लागि डा. भेषबहादुर थापाको सुझाब यस्तो छ



आजदेखि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानु नौलो विषय होइन । हरेक प्रधानमन्त्री भारत भ्रमणमा जाँदा ठूलै उपलब्धि भएको दाबी गरिन्छ । तर सबैले अनुभूति गर्न सक्ने गरी उपलब्धि भएको पाइदैन । काजगमा विभिन्न सम्झौता समेत गरिन्छ । तर कार्यान्वयन हुन सक्दैन । यसपटकको भ्रमणलाई नयाँ सम्झौता नगरी पुराना सम्झौता कार्यान्वयन कसरी गर्ने भन्नेमा केन्द्रित गर्ने बताइएको छ । यिनै सन्दर्भमा ऋषि धमलाले परराष्ट्रविद डा. भेषबहादुर थापासँग प्रधानमन्त्री देउवाको भारत भ्रमणका सन्दर्भमा कुरा गर्नुभएको छ । थापासँगको कुराकानी यस्तो छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?
यो एउटा सद्भाव भ्रमण हो । नेपालभारतबिचको सम्बन्ध घनिष्ठ छ । दुई देशबिचमा समस्या पनि छन्, समाधानका उपाय पनि छन् । नेपाल राजनीतिक संक्रमणकाल छ, जुन आन्तरिक कुरा हो । नेपाल–भारतबिचको सम्बन्धमा संविधान जारी भएपछि असमझदारी भएको छ । अप्रत्यासित कदम पनि चालिएको थियो । त्यो असमझदारी हटाउनुपर्छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण फलदायी बनाउनका लागि के गर्नुपर्छ ?
पछिल्लो समय भएको नेपाल–भारतबिचको असमझदारी अब हटाउनुपर्छ । दुवैतर्फबाट पहलकदमी गरेर समस्या समाधान गर्नुपर्छ । तय भएका एजेण्डामा प्रभावकारी छलफल गर्नुपर्छ । उच्च तहमा छलफल गरेर सम्बन्धलाई पुनरुत्थान गर्नुपर्छ । भूकम्पपछिको नाकाबन्दीले ल्याएको तिक्ततालाई हटाउनका लागि पहलकदमी भइरहेको छ । त्यसलाई उच्चतहमा समझदारीमा परिणत गर्न सक्नुपर्छ । विगतमा भएका समझदारीको कार्यान्वयनको बाटोमा लगेर नेपाली जनतालाई राहत दिनुपर्छ ।

भारत–चिनबिचको दोक्लाम विवादमा भारतले नेपालको सहयोग खोजेको जस्तो देखिन्छ । दोक्लाम विवादमा नेपालको भूमिका के हुनुपर्छ ?
नेपालको भूमिका छैन । चनाखो भएर बस्नुपर्छ । दुई पक्षिय असमझदारीलाई कुटनीतिक वार्तामार्फत समझदारीमा बदलियोस् भन्ने चाहना मात्रै नेपालले राख्नुपर्छ । अर्को कुरा दोक्लम विवादमा कसैले पनि नेपालको भूमिका खोजेको छैन । हामी पनि तटस्थ बस्नुपर्छ । भारत र चिनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।

भारतीय पक्षले दोक्लम विवादका बारेमा नेपालले खुलेर कुरा गर्न सकेको छैन भन्ने विश्लेषण गरेका छन् नि ?
कसले के भन्यो भन्ने चलिरहन्छ । नेपाल त्यसको पछाडि लाग्नुहुँदैन । नेपालले तटस्थ बस्ने धारणा स्पष्ट गरिसकेको छ । दुवै देशप्रति सद्भाव राखेर कुटनीतिक रुपमा समस्याको समाधान होस् भन्ने चाहना नेपालको हुनुपर्छ । त्यो भइसकेको पनि छ ।

नेपाल–भारतबिचको विभिन्न सन्धी सम्झौताको विषयमा विवाद छ । तपाई दुई देशको प्रवुद्ध समुहमा नेपालको तर्फबाट संयोजक पनि हुनुहुन्छ । विवादका विषयमा नेपालले कुरा राखेको छ ?
हामीले सबै विषयमा कुरा राखेका छौँ । वार्ता सकारात्मक मोडमा गइरहेको छ । केही समझदारीले वार्तालाई सकरात्मक दिशातर्फ लगेको छ । तर संवेदनशिल कुरालाई निश्कर्षमा पुग्नभन्दा अगाडि नै सार्वजनिक गर्नुभन्दा पनि सरोकारवालासँग सल्लाह गरेर निष्कर्षमा पुग्नका लागि दुवैतर्फबाट प्रयास भइरहेको छ ।

नेपाल–भारतबिचमा विभिन्न ठूला विकास आयोजना निर्माण सम्बन्धमा सम्झौता भएका छन् । तिनको कार्यान्वयन कसरी गर्न सकिएला ?
पछिल्लो २ दशकमा जे जति सहमति भएका छन्, तिनको कार्यान्वयमा शिथिलता भएको कुरा नेपाल र भारत दुवै पक्षले बुझेका छन् । अब दुई देशका प्रधानमन्त्रीबिचको भेटमा छलफल गर्ने भनिएको छ । त्यसैले हामीले बाहिर धेरै बहस गर्ने ठाउँ छैन ।

 



प्रतिक्रिया दिनुहोस्