Logo

भारतविरुद्ध नारा जुलुस गरेर वा गाली गलौज गरेर केही हुँदैन : मिन विश्वकर्मा



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एक सदस्य हुन् वाणिज्य मन्त्री मिन विश्वकर्मा । मन्त्री विश्वकर्मासँग ऋषि धमलाले भ्रमणका एजेण्डाका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई लक्षित गरी मंगलबार नै दिल्ली पुगेका धमलाले त्यहीँबाट मन्त्री विश्वकर्मासँग कुराकानी गरेका छन् । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विशेषता केके छन् ?
भारत हाम्रो मित्रराष्ट्र मात्र नभै छिमेकी मित्रराष्ट्र हो । यो भ्रमण दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउनका लागि गरिएको राजकीय र औपचारिक भ्रमण हो । दुई देशबिचको समझदारी विकास गर्नका लागि यो भ्रमणले महत्वपूर्ण भूमिका खल्नेछ ।

भारतले बनाएका डुबानका कारण नेपाली भुमी डुबानमा परेको छ । यस विषयमा छलफल हुन्छ ?
डुबानका विषयमा भारत पूर्ण जानकार छ । डुबान पीडित नेपाली जनताका लागि भारत सरकारले सहयोगको प्रतिबद्धता जनाइसकेको छ । यसपटकको भेटवार्तामा पनि कुटनीतिक वार्ता हुने छ । दुवै पक्षले समाधानको उपाय खोज्ने विषयमा छलफल गर्नेछन् ।

छलफलमा केके विषय प्राथमिकतामा पर्छन् ?
दुई पक्षीय भेटमा नेपाल–भारतबिचमा सरोकार राख्ने इतिहासदेखिका सबै विषय उठान हुन्छन् भन्ने छैन । अहिले देखिएका पछिल्ला समस्यालाई प्राथमिकतामा राखिएको छ । भारतले बनाएको गैरकानुनी बाँधका कारणले मात्रै मधेश डुबेको भन्ने हल्ला फिजाइएको छ । नेपालमा आकस्मिक रुपमा परेको अति वर्षाका कारणले र देशभित्रकै केही भौतिक संरचनाका कारणले डुबानको परिणाम ज्यादा देखिएको हो । तर त्यसमा भारतीय पक्षबाट बनाइएका केही बाँधका कारणले पनि डुबान परेको छ । यस विषयमा पनि देउवा र मोदीबिचको भेटवार्तामा कुरा हुन सक्छन् ।

कोशी बाँधले निम्त्याएको समस्या दीर्घकालिन रुपमा समाधान हुनुपर्छ भन्ने सबैको भनाई छ । तपाईहरुको ध्यान त्यतातिर नगएको हो ?
हाम्रो ध्यान प्रशस्त मात्रामा गएको छ । तर भारत स्थायी छिमेकी राष्ट्र हो । हामी छिमेकी बदल्न सक्दैनौँ । बदल्न नसकिने छिमेकीसँगको सम्बन्ध सधैँ सुमधुर राख्नुपर्छ । नारा जुलुस गरेर वा गाली गलौज गरेर र एक अर्कालाई दोष देखाएर केही हुँदैन । त्यसैले यस्ता विषयमा सौहार्द तरिकाले कुरा उठान हुनेछ । कुटनीतिक ढंगबाट नै समाधान खोजिनेछ ।



प्रतिक्रिया दिनुहोस्