Logo

देउवा र मोदीबीच आज विस्तृत छलफल, आज के–के छ कार्यक्रम ?



ऋषि धमला
नयाँ दिल्ली ८ भदौ । नेपाल र भारतबीच आज विस्तृत छलफल हुँदैछ । बुधवार आकस्मिक भेटवार्ता गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज औपचारीक भेटवार्ता हुँदैछ । आजको वार्तापछि नेपाल र भारतबीचमा भएका कयौ असमझदारी ताडेर केही विषयमा हस्ताक्षर हुनेछ । आजको विस्तृत छलफलपछि विभिन्न सातवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । हिजो आकस्मिक छलफलमा भएको वार्तालाई आधार मानेर आज थप छलफल हुनेछ ।

नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । ५० मिलियन स्वास्थ क्षेत्रमा, ५० मिलियन सांस्कृतिक सम्पदा, ५० मिलियन शिक्षा क्षेत्रमा र एक सय मिलियन भूकम्पपीडितका लागि घर निर्माणमा सहमति हुनेछ । नेपाल र भारतका गुणस्तर तथा नापतौल निकायबीच एक समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

‘दुई प्रधानमन्त्रीहरूबीच बिहीबारको छलफलका लागि सहज हुने गरी वार्मअप मिटिङ भएको हो, यस्तो भेटवार्ताले दई पक्षबीच अड्किएका विषयहरू समाधानका लागि सहयोगी हुने अपेक्षा छ,’ भेटवार्ताबारे नेपाली राजदूत उपाध्यायले भने । उनले मोदीले चियापानका लागि बोलाएका कारण देउवा भेटका लागि गएको बताए ।

‘बिहीबार भेट हुने त छँँदै छ, त्यही पनि अनौपचारिक रूपमा बसौँ, चिया खाउँ भनेर मोदीजीले बोलाएपछि प्रधानमन्त्रीजी जानुभएको हो,’ उपाध्यायले भने । करिब आधा घन्टाको उक्त भेटवार्ताका लागि भारतीय पक्षले बुधबार बिहान मात्रै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायमार्फत अनुरोध गरेको थियो । उपाध्यायले दुई शीर्ष नेताबीचको यस्तो भेटवार्ताले दुवै देशबीच विश्वासको स्तर बढ्ने र राजनीतिक तहमा हार्दिकता थपिने बताए ।

देउवा र मोदीबीच बुधबार नै भेट भएपछि बिहीबार उनीहरूबीच एक्लाएक्लै वार्ता नहुने नेपाली दूतावासका एक अधिकारीले बताए । तर, हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीबीच आफूबाहेक दुईजना अधिकारीसहितको बैठक बस्नेछ । सो बैठकमा नेपालबाट परराष्ट्रसचिव शंकरदास बैरागी र भारतका लागि राजदूत दीपकुमार उपाध्याय रहेनछन् भने भारतबाट विदेशसचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी रहनेछन् । उक्त बैठक सकिएपछि बिहान ११ः३० बजे प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । पञ्चेश्वरलगायत परियोजनाबारे प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा छलफल हुनेछ ।

आज के–के छ कार्यक्रम ?
बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा भारतीय सेनाको सम्मान गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपतिभवन फर्किने उनीसँग बिहान १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । स्वराजले देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । देउवा र मोदीबीच ११ः३० बजे हैदराबाद हाउसमा सीमित अधिकारीसहितको आधा घन्टा भेटवार्ता हुनेछ । त्यसलगत्तै देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि १ घन्टा हुनेछ ।

१ः१० मा देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनेछ, भारतबाट बिजुली आयात भएको घोषणा पनि हुनेछ । २ः४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन् । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहले भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्