Logo

साझेदारी वनलाई प्रदेश मातहत नराखिए आन्दोलनगर्ने महासंघको चेतावनी



काठमाडौं, ८ भदौ । साझेदारी वन उपभोक्ता महासंघले साझेदारी वनलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो ।

महासंघका अध्यक्ष रामरुप कुर्मीले साझेदारी वन उपभोक्तालाई प्रदेश मातहतमा नराखिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।  साझेदारी वनमा दुर दराजका उपभोक्ता आवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष कुर्मीले भने,‘स्थानीय तहमा साझेदारी वनलाई राख्ने हो भने त्यस्ता उपभोक्ताहरु सेवाबाट स्वतह वञ्चित हुन्छन्, राज्यले यस्ता कुरामा ध्यान दिन जरुरी छ ।’

कार्यक्रममा वन विज्ञ डा.नगेन्द्रप्रसाद यादवले स्थानीय उपभोक्ता, तहले गर्दा परम्परागत उपभोक्ता वञ्चित हुने भएकोले साझेदारी वन प्रदेशको मातहतमा राख्नुपर्ने माग गरे ।

उनले भने,‘वैज्ञानिक वन व्यबस्थापनबाट, वनको अवस्थामा सुधार, काठदाउराको सहज आपुर्ति हुन्छ, राजश्वमा बृद्धि हुन्छ, स्थानीय स्तरमा रोजगारीको सिर्जना हुन्छ, त्यसैगरी काठ आयातमा कमि आउछ।’

महासंघका उपाध्यक्ष जयप्रकाश पाण्डेयले एउटा साझेदारी वन क्षेत्रभित्र पाँचवटा स्थानीय तहसम्म पर्ने हुँदा वन नभएको स्थानीय तहलाई समेटेको भन्दै साझेदारी वलाई प्रदेश मातहतमा राख्नु पर्नेमा जोड दिए ।

१५२ वटा स्थनीय तहहरुमा वन नभएको स्थितिमा त्यस्ता स्थानीय तहका बासिन्दा प्राकृतिक स्रोत उपभोग गर्नबाट बञ्चित हुने महासंघको दावि छ।

साझेदारी वनबाट उपभोग गर्दै आएको सेवा सुविधा पाईरहेका जनताले साझेदारी वनलाई स्थानीयतहमा राख्दा वन उपभोग गर्नबाट थप बञ्चित हुने भन्दै महासंघले परम्परागत उपभोक्ताको अग्राअधिकार कायम हुने गरि साझेदारी वनलाई तत्काल प्रदेशमा मातहत राख्ने जोडदार माग समेत गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्