Logo

निर्वाचनको स्वागत गरेपनि नेपालको संविधानमा भारतीय पोजिसन यथावत



नयाँदिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको स्थानीय तहको निर्वाचनको लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएपछि भारतले संविधानको स्वागत गरेको अडकलवाजीका बीच भारतले संविधान प्रतिको भारतीय नीति यथावत रहेको स्पष्ट पारेको छ ।
साँझ आयोजित ‘मिडिया ब्रिफिङ’मा विदेश सचिव सुब्रमण्यम जयशंकरले संविधान संशोधनमा भारतको ‘पोजिसन’को निरन्तरता खुलाएका हुन् ।
उनले भने, ‘त्यो भनेको संविधान कार्यान्वयनको प्रक्रियामा समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई जारी राख्नुपर्छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित बन्नु पर्छ ।’
मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले गरेको प्रयास ‘सेयर’ गरेको जयशंकरले बताए ।
दुई प्रधानमन्त्रीबीचको भेटमा चीन–भुटान सीमाको दोक्लाममा जारी तनावबारे कुनै कुरा नभएको जयशंकरले दाबी गरे । भारत र चीनको तनाव बढेका बेला भएको भेटमा दोक्लामबारे केही कुराकानी भएन त भन्ने प्रतिप्रश्नमा उनले हाँस्दै भने, ‘अहँ भएन ।’
कश्मीरको उरीमा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन । तर, देउवा र मोदीबीच यसबारे कुराकानी नै नभएको जयशंकरको जवाफ थियो ।



प्रतिक्रिया दिनुहोस्