Logo

देउवाप्रति प्रचण्डको टिप्पणी,‘संविधान संशोधनमा कसैसँग कुरा गर्न आवश्यक छैन’



सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको समर्थनमा बनेको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएकाले यस विषयमा कसैसँग कुराकानी गर्न आवश्यक नभएको तर्क गरेका छन ।

पार्टीको प्रदेश नम्बर ६ स्तरीय प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका प्रचण्डले शुक्रबार पत्रकार सम्मेलनमा भने ’भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो। यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनको पुन प्रयास गर्ने भनाइ राखेकोप्रति टिप्पणी गर्दै प्रचण्डले तत्काल संविधान संशोधन नहुने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थिरताका निम्ति जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक भएको भन्दै यस विषयमा माओवादीले अभियान नै चलाउने बताए ।

उनले माओवादीले यसअघि जति हारे पनि माओवादीले अब जित्दै जाने बताए। प्रचण्डले भने ’जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ। हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’



प्रतिक्रिया दिनुहोस्