Logo

महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण-फोटोफिचर



काठमाडौँ, ९ भदौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन्।महासङ्घद्वारा यहाँ आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गर्नुभयो ।

यही भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित हुनुभएको थियो ।

महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको थियो ।

नवनिर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको बगैँचामा कपुरको बिरूवा रोपेर र नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले त्यही बिरूवामा पानी राखेर पद हस्तान्तरण गर्नुभएको थियो ।

महासङ्घले निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी महासङ्घका कर्मचारीलाई सम्मान गरेको छ ।

सोही अवसरमा सभामुख ओनसरी घर्तीले पत्रकारको पेशागत हक हितका लागि महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । “संविधान कार्यान्वयनअन्तर्गत दलहरूले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छन्, २ नं प्रदेशको चुनावमा मधेशी दल सहभागी हुनु आफैँमा सकारात्मक हो, अब हुने प्रदेश र सङ्घको निर्वाचन सफल बनाउन सबैको उत्तिकै भूमिका हुनेछ”, सभामुख घर्तीले भन्नुभयो ।

नवनिर्वाचित अध्यक्ष आचार्यले महासङ्घ सधैँभरि प्रेस स्वतन्त्रताको पक्ष रहने बताउनुभयो । सबैको सल्लाह, सुझावका आधारमा सबै पक्षलाई साथमा लिएर अगाडि बढ्ने उहाँको प्रतिबद्धता थियो ।

अध्यक्ष आचार्यले अहिले रु एक करोड ४६ लाख ५३ हजार रहेको महासङ्घको कल्याणकारी कोषलाई बढाएर आफ्नो कार्यकालमा कम्तीमा रु पाँच करोड पु¥याउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान अध्यक्ष डा विष्टले आफ्नो कार्यकालमा आम सञ्चार नीति, पत्रकारको उपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ पत्रकार सम्मान र पत्रकारको न्यूनतम् पारिश्रमिकलगायतका महत्वपूर्ण काम भएको जानकारी दिनुभयो । तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्