Logo

संघीय ऐन नबन्दासम्म नेपाल प्रहरीले पुरानै संरचनामा काम गर्ने



काठमाडौं, ९ भदौं । प्रदेशको इन्चार्ज बनाएर पठाईएका नेपाल प्रहरीका एआईजीहरुले संघीय प्रहरी ऐन नबनेसम्म पुरानै ढाँचामा काम गर्नुपर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ऐन नआएसम्म पुरानै तरिकाले काम गर्ने गरी एआईजीलाई प्रदेशमा खटाइएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी पुष्कर कार्कीले संघीय प्रहरी ऐन गृहले बनाईरहेकोले संघीयता कार्यान्वयन गराउनका लागि सबैभन्दा अघि प्रहरी जाँदा सहज हुने भएकाले सरकारले प्रहरीलाई त्यही अनुसार परिचालन गर्ने निर्णय गरेर एआईजी खटाइएको बताए तर ऐन नआउन्जेल जसरी क्षेत्रीय प्रहरी कार्यालयले काम गरिरहेको छ त्यसरी नै काम गर्ने जानकारी दिए ।

यसअघिका क्षेत्रीय प्रहरी कार्यालयलाई अब संघीय प्रहरी कार्यालय बनाइने भएको छ । पहिला क्षेत्रीय कार्यालयमा डीआईजी रहन्थे, तर अब संघीयतामा प्रहरीलाई परिचालन गरिएको छ । जसअनुसार एआईजीलाई प्रदेशको जिम्मेवारी दिएर क्षेत्रमा पठाइएको छ । उनीहरु अब पहिला क्षेत्रीय डीआईजी बस्ने कार्यालयमा रहनेछन् ।

त्यसैगरी पहिलेका अञ्चल प्रहरी कार्यालय अबदेखि संघीय एकाइ प्रहरी कार्यालयमा परिणत गरिने भएको छ । तर त्यहाँ को रहने भन्ने बारेमा अहिले यकिन भने भएको छैन । त्यसका लागि प्रहरी प्रधान कार्यालयमा आन्तरिक छलफल चलिरहेको प्रवक्ता कार्कीको भनाइ छ ।

२ र ५ नम्बर प्रदेशमा संघीय प्रहरी कार्यालय स्थापना गर्ने तयारी भइरहेको डीआईजी कार्कीले बताए । त्यहाँ अञ्चल प्रहरी कार्यालयबाट एआईजीहरुले काम गर्ने छन ।



प्रतिक्रिया दिनुहोस्