Logo

चिकित्सक भन्छन्ः चुल्ठो काटिने समस्या मासहिस्टेरिया हो



लुम्बिनी १०, भदौ । केहीदिन देखि तराइका जिल्लामा महिलालाइ बेहोस बनाएर कपाल काटिने कुराले धेरै चर्चा पाएको छ । यस्तो समस्या लिएर भैरहवाको भीम अस्पतालमा उपचारको लागि आउने महिलाको संख्या १८ पुगेको अस्पतालले जनाएको छ ।

यसरी आउने महिलालाई मानसिक परामर्शका साथै औषधि दिएपछि स्वास्थ्यवस्था सामान्य हुँदै गएको अस्पतालका अहेव गोपाल उपाध्यायले बताए ।

उनका अनुसार आएका मध्ये धेरै महिला उपचार पछि घर फर्किसकेका छन् । त्यस्तै समस्या लिएर रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता परिवर्तित नाम पनि बिहीबार बिहान अस्पताल पुगेकी छन् । त्यस्तै सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो ।

यस्तो घटनाबाट रूपन्देहीमा मात्र १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रूपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएको अस्पतालले जनाएको छ ।

कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भनिन् , “केही समय टाउको झमझमाए जस्तो भयो । त्यतिबेला न्याउरीमुसो आएको जस्तो लाग्छ ।

एकै छिनमा रिंगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।” अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुई-तीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताए ।

चिकित्सकले हाउगुजीको पछि नलागी नडराइकन बस्न पनि सुझाएका छन् । भारतको हरियाणा र राजस्थान राज्यमा पनि ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको भन्ने समाचारहरु आइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्