Logo

अग्ला खेलाडीमाथि होचा कदका नेपालीको खरो प्रदर्शन



काठमाडौं, ११ भदौ । लगनखेल स्थित नेपाली सेनाको कभर्डहलमा शनिबार नेपालको राष्ट्रिय टोली र डेनमार्कको भिलओभा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेल सुरु हुनुअगाडि त्यहाँ पुगेका धेरै सर्मथकले नेपाली टोली सजिलै पराजित हुने आकलन गरेका थिए ।

शारीरिक रूपले नेपाली खेलाडीका तुलनामा भिलओभा क्लबका खेलाडी निकै अग्ला थिए । त्यसैले भिलओभा नेपाली टोलीमाथि हावी हुने अनुमान समर्थकको ठीकै थियो ।

तर, पहिलो सेट सुरु भएदेखि नै नेपाली टोलीको प्रदर्शन दमदार रह्यो । सुरुमा अग्रता बनाएको नेपाले पहिलो सेट गुमाए पनि त्यसपछिको तीनवटै सेट जित्न सफल भयो । पछिल्ला सेटमा नेपाल भिलओभाविरुद्ध हावी बन्यो । पहिलो सेट १७-२५ ले गुमाएको नेपालले त्यसपछिको तीनवटै सेन २५-१५, २५-२३, २५-२३ ले जितेको थियो ।

नेपाली टोलीले ३-१ को सेटमा खेल जितेलगत्तै मन्तव्य राखेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको तारिफ गरे । राष्ट्रिय खेल घोषणासँगै भलिबलले उत्साहजनक नतिजा दिएको बताए । नेपाल भलिबल संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्ले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले भिलओभा क्लबका खेलाडी कदमा अग्ला र शारीरिक रूपमा पनि बलिया भए पनि नेपाली खेलाडीले बहादुरीपूर्ण खेल खेलेको बताए ।

‘डेनमार्कका खेलाडी हामीभन्दा शारीरिक रूपमा बलिया र अग्ला थिए । हाम्रा खेलाडीले उचाइ र शारीरिक बनावटमा भन्दा पनि खेलमा ध्यान केन्द्रित गरे र विजय हासिल गरे’, प्रशिक्षक भट्टले भने । उनले डेनमार्कका खेलाडीको सर्भिस र स्पाइक राम्रो भए पनि नेपाली टोलीले रिसिभ र एड्याटिङ खेलेर नतिजा आफ्नो पक्षमा बनाएको बताए ।

विपक्षी टोलीमा आफूभन्दा निकै अग्ला खेलाडी भए पनि ओपन स्पाइकर मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, नरेन्द्र गिरी र कुलबहादुर थापा तथा क्विक स्पाइकर महेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विगतका प्रतियोगिताको तुलनामा नेपालको डिफेन्स र रिसिभ कमजोर देखिएको थियो । नेपालका लिबेरो र सेटरले राम्रो खेल्न नसक्दा डिफेन्स र रिसिभ कमजोर देखिएको थियो । प्रशिक्षक भट्टले पनि रिसिभ, डिफेन्स र बल सेटिङ राम्रो नहुँदा बेला बेलामा दबाब खेप्नु परेको बताए ।

आजको खेलमा लिबेरोले शतप्रतिशत खेल खेल्न सकेन भने बल रिसिभ र सेटिङ पनि कमजोर हुँदा दबाब झेल्नु पर्‍यो’, प्रशिक्षक भट्टले भने, ‘हाम्रो तुलनामा डेनमार्क टोलीको सर्भिस र स्पाइक उत्कृष्ट रह्यो ।’भिलओभा क्लबका प्रशिक्षक मार्टिन ओलेसेनले आफ्ना खेलाडीको तुलनामा नेपालको खेल ‘फास्ट’ रहेको प्रतिक्रिया दिए ।

खेलपछि प्रतिक्रिया दिँदै प्रशिक्षक ओलेसेनले अभ्यासको कमी र नयाँ खेलाडीको समन्वय नमिल्दा पराजय बेहोर्नु परेको बताए । ‘हामीले नेपालमा अभ्यास गर्न पाएनौं जसले गर्दा नयाँ र पुराना खेलाडीबीच समन्वय भएन ।

कभर्ड हलको गर्मीका कारण पनि खेलाडीले स्वाभाविक खेल खेल्न सकेनन्’, प्रशिक्षक ओलेसेनले भने । उनले १२ सदस्यीय टोलीमा चार जना राष्ट्रिय टोली र चार जना नयाँ खेलाडी रहेको बताए ।

भिलओभा क्लब डेनमार्कको पहिलो श्रेणीको क्लब हो । धेरैपटक शीर्ष स्थानमा रहेको क्लब विगत दुई संस्करणमा तेस्रो स्थानमा रहेको प्रशिक्षक ओलेसेनले जानकारी दिए ।

उनले नेपाल र डेनमार्कबीच कूटनीटिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा सुरु भएको दुई देशबीचको मैत्रीपूर्ण खेललाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

भिलओभा क्लबसँग नेपालले गत जेठमा प्रतिस्पर्धा गरेको थियो । जेठ ७ गते डेनमार्कमै भएको प्रतिस्पर्धामा नेपाली टोली ३–२ सेटले पराजित भएको थियो । साभार अन्नपूर्ण

 



प्रतिक्रिया दिनुहोस्