Logo

सुदरपश्चिमका घर-घरमा गौरा भित्र्याइँदै



बैतडी, १२ भदौ । सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ । आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् ।

धानको खेतमा धानसँगै उम्रिएको साउँको बोट, अपामार्गलगायतका सामग्रीसहित गौराको प्रतिमूर्ति बनाई गौराघरमा भित्र्याउने चलन रहिआएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

व्रतालु महिलाले आज बिहानै नुहाइधुवाईपछि दिनभर व्रत बसी साँझ गौरा घरमा जम्मा भएर गौराको पूजा गर्ने चलन रहिआएको छ । आज भित्र्याइएको गौरालाई महिलाले विभिन्न फागमार्फत आह्वानसमेत गर्ने गर्छन् ।

व्रतालु महिलाले आज विभिन्न पूजा सामग्री लगेर गौराको पूजा गर्ने चलन छ । आजै व्रतालु महिलाले आफ्ना गुरुबाट दीक्षासमेत लिने गर्छन् । व्रतालु महिलाले आज कुण्ड स्नान गर्ने चलनसमेत रहिआएको छ । यस्तै व्रतालु महिलाले दुबधागो पनि आजै गौरामा चढाउने गर्छन् । आज भित्र्याइएको गौरालाई भोलि दुर्वाष्टमीका दिन गौरा खलामा लगेर पूजा गर्ने गरिन्छ ।

यसैबीच, सुदूरपश्चिमका पहाडी जिल्लामा गौराको चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरुसमेत गौराका लागि घर फर्केपछि गाउँघरमा चहलपहल बढेको हो ।

गौराको अवसरमा आजभोलि गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायतका खेल भइरहेका छन् । यी खेलमा प्राचीन इतिहास समेटिएको संस्कृतिका जानकार चन्द्रमोहन तिवारीले बताउनुभयो ।

यी खेलमा देवीदेवताका गाथासँगै वीरपुरुषका इतिहाससमेत समेटेको पाइन्छ । तर यी संस्कृतिका विषयमा युवा पुस्ताका ध्यान नजाँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्