Logo

भारतले नेपालको आर्थिक विकासमा सहयोग गरेको छ, अझै सहयोग लिनुपर्छ : कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका बारेमा दिएको अभिव्यक्तिलाई उनले कसरी लिएका छन् त ? परराष्ट्रमन्त्री हुँदा नेपालको संविधानका बारेमा भारतलाई खुशी बनाउनका लागि भारतमा गएर चार बुँदे पत्र बुझाएको आरोप लागेका थापा देउवाको अभिव्यक्तिलाई कसरी लिन्छन् त ? यही विषयमा ऋषि धमलाले थापासँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्तामा चुनावी तालमेलदेखि पार्टी विभाजनसम्मका कुरा उठान गरिएको छ । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?
यो एउटा सद्भाव भ्रमण हो । विगतदेखिको निरन्तरता पनि हो । तर संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनका विषयमा दिएको अभिव्यक्ति अनावश्यक, अनुपयुक्त र असान्र्दभिक छ । उक्त अभिव्यक्तिले विवादको स्थिती सृजना गरेको छ ।

तपाई उपप्रधानमन्त्री हुँदा पनि विश्वभर संविधानको बारेमा सन्देश दिने प्रयास गर्नुभएको थियो । तर अहिले देउवाले नेपालको संविधान सबैले स्विकार गर्ने बताउँछु भन्दैमा कसरी असान्र्दभिक भयो ?
समय र सन्दर्भ महत्वपूर्ण हुन्छ । केही दिनअघि मात्र संसदबाट संविधान संशोधन विधेयक असफल भएको अवस्थामा भारतमा गएर लिखित वक्तव्य पढ्दा पढ्दै विचैमा रोकेर संविधान संशोधन पास गराउँछु भन्नु आवश्यक थिएन । संविधान संशोधन गराउन नसक्नुलाई अपराधवोध गरे जसरी अभिव्यक्ति दिनुभयो । संविधान संशोधन गराउन भारतले दबाब दिएको र संशोधन गर्न नसक्नु अपराध गरे जस्तो गरी बोल्नुभयो ।

संविधान जारी भएलगत्तै तपाईं आफै परराष्ट्रमन्त्री हुँदा नेपालको संविधान सर्वस्विकार्य बनाउनका लागि भारतीय परराष्ट्रमन्त्री सुश्मा स्वराजसँग कुरा गर्नुभएको होइन ?
त्यसबेला संविधान जारी भएको बेला थियो । संविधानका बारेमा विश्व समुदायलाई जानकारी गराउनु आवश्यक थियो । सरकारको जिम्मेवार मन्त्रीको नाताले संविधानमा भएका राम्रा पक्षका बारेमा विश्वमाझ जानकारी गराएको हुँ । तर संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक विषय हो । यो कुरा अरु कसैलाई भनिरहनु जरुरी थिएन ।

कमल थापाले चाँही सुश्मा स्वराजलाई संविधानका बारेमा चार बुँदे पत्र बुझाउन हुने, नेपालको संविधानको बारेमा अरुले चासो राख्न नहुने भनेर मधेशी मोर्चाका नेताहरुले भनेका छन् । यसलाई कसरी लिनुहुन्छ ?
चार बुँदे भनेर जसरी प्रचार गरिएको छ, त्यो असाध्यै भ्रामक समाचार हो । मैले यस विषयमा पटकपटक खण्डन गरिसकेको छु । मलाई व्यक्तिगत रुपमा बदनाम गर्ने र चरित्र हत्या गर्नका लागि लगाइएको आरोप हो । हामीले आन्तरिक मामलामा विदेशमा गएर छलफल, निर्णय र सहमति गर्ने काम गरेका छैनौँ ।

प्रधानमन्त्री देउवाले कुन विषयमा कहाँ गएर कसरी बोल्ने भन्ने मापदण्ड बनाऔँ भन्नुभएको छ । तपाईहरु यसबारेमा सहमत हुनुहुन्छ ?
तीन पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले कुन विषयमा सार्वजनिक रुपमा विदेशमा गएर बोल्न हुन्छ वा हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । नेपालको आन्तरिक मामलामा कसरी बोल्ने भन्ने कुरा पनि आचारसंहिता बनाउनुपर्ने कुरा हो र ? यस विषयमा कहीँ लेख्नुपर्ने वा सहमति गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कहाँ कसरी बोल्नुपर्छ भनेर नजान्ने व्यक्ति कसरी प्रधानमन्त्री हुन्छ ?

नेपाली राजनीतिक दलहरुबिचमा भारतलाई हेर्ने दृष्टिकोण किन फरक फरक हुन्छ ?
भारतसँग राम्रो सम्बन्ध हुनुपर्छ । नेपाल र भारतबिचमा विशिष्ट सम्बन्ध छ । कुटनीतिक रुपमा मात्र नभै जनस्तरमा पनि राम्रो सम्बन्ध छ । भारतले नेपालको आर्थिक विकासमा सहयोग गरेको छ । अझै सहयोग लिनुपर्छ । भारतको समृद्धिका लागि नेपालले पनि पर्याप्त सहयोग गर्नुपर्छ । भारतका सुरक्षा संवेदनशीलतालाई हामीले संबोधन गर्नुपर्छ । एउटा असल छिमेकीका रुमपा भारतसँग सम्बन्ध कायम राख्नुपर्छ । तर नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेप स्विकार गर्न सकिदैन । २०६२–६३ पछि नेपालको सत्तामा पुग्नका लागि बाह्य शक्तिको सहयोग र शक्ति चाहिन्छ भन्ने मान्यता नेपालका नेताहरुमा छ । यसको अन्त्य हुनुपर्छ ।

अब चुनावको कुरा गरौँ । प्रदेश नम्बर २ को चुनावमा कुन दलसँग तालमेल गर्ने तयारीमा हुनुहुन्छ ?
चुनावी तालमेललाई हामीले प्राथमिकता दिएका छैनौँ । २ चरणको चुनावमा त्यति राम्रो नतिजा आएन । यसपटक राम्रोसँग प्रयास गरिरहेका छौँ । तालमेलभन्दा पनि आफ्नै शक्तिका आधारमा चुनाव लड्ने तयारीमा छौँ ।

नेकपा एमालेसँग तालमेल गर्ने सम्भावना कत्तिको छ ?
यसअघिको २ वटा चुनावमा आवश्यकता अनुसार कतै एमालेसँग, कतै कांग्रेससँग तालमेल भयो । त्यसैगरी यसपटक पनि हामीले स्थानीय तहमा पार्टीको जिल्ला समितिमा नै आवश्यकता अनुसार तालमेल गर्न अधिकार दिएका छौँ ।

नेकपा एमालेका नेताहरुले त राप्रपासँग तालमेल गर्ने कुरा गरेका छन् नि ?
चुनाव जित्ने प्रयोजनका लागि तालमेल हुने हो । यसको पछाडि कुनै सैद्धान्तिक आधार रहँदैन । तर प्रदेश र संसदको चुनावमा हामी तलमेल गरेर नै अगाडि बढ्छौँ । त्यसको आवश्यकता पनि छ । अहिलेको नेपालको राजनीतिक ध्रुविकरण अनुसार राजनीतिमा आफ्नो प्रभाव कायम राख्न र बाहिरी शक्तिले गठबन्धन गर्नका लागि प्रयास गरिरहेको बेलामा राष्ट्रवादी शक्तिहरुबिचमा राजनीतिक तालमेल र सहकार्यको आवश्यकता छ ।

राप्रपा फुटेको यो अवस्थामा चुनावमा असर पर्ला नि ?
निश्चय पनि निर्वाचनको मुखमा पार्टी विभाजन हुँदा प्रभाव पर्छ । मनोवैज्ञानिक र राजनीतिक असर पर्छ ।

राप्रपा किन फुट्यो ?
नेपालमा बलियो राष्ट्रवादी शक्ति बन्न नसकोस भन्नेहरुले राप्रपालाई विभाजन गर्न सहयोग गरेका हुन् । त्यसैले पनि राष्ट्रियताको संरक्षणका लागि आवश्यकता अनुसार सहकार्य गर्नुपर्छ । नेपाललाई हिन्दुराष्ट्र बनाउन नचाहने शक्तिले हाम्रो पार्टी फुटाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्