Logo

नाडा अटो शो सुरु, ब्राण्ड नै ब्राण्डका गाडिको कुम्भ मेला



भदौ १३, काठमाण्डौ । नेपालमा सवारी साधनको सर्वाधिक ठुलो मेलाको रुपमा रहेको नाडा अटो शो मंगलवारवाट भृकुटी मण्डपमा प्रारम्भ भएको छ । मेलामा १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन् भने १६ वटा ब्राण्डका ४ पाङ्ग्रे सवारी साधन उपलब्ध छन् । प्रर्दशनीमा सहभागि भई सवारी साधन खरिद गर्नेलाई विभिन्न छुटको योजना पनि अघि सारिएको छ ।


नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपाल एंव ग्लोबल एक्सपोजिसन एण्ड म्याजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा सुरु भएको अटो शोको सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायारले उद्घाटन गर्नुभयो । मंगलबारबाट सुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै उनले भन्सार मात्रै छुट होइन आवश्यक परेको खण्डमा गाडी नै अनुदान दिन मन्त्रालय तयार रहेको र पूर्वाधार विकासका लागि नीजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्री बलायरले व्यापारीहरुलाई कम्पनीको फाइदको लागि भन्दा पनि देशको हितको बारेमा सोच्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नाडा अटो मोबाइल्स एशोसियसनका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सडक निर्माण गर्दा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले मेलाका अवसरमा सवारसी साधन खरिदमा विभिन्न छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । मेला अवलोकन गर्नेहरुमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ ।


अवलोकनकर्ताहरूको सुविधालाई लक्षित गर्दै र व्यवस्थापनमा समेत सहज हुने भएकाले २ पांग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टाछुट्टै ठाउँ निर्धारण गरिएको छ । मेलामा साना ठुला गरि १३० वटा स्टल रहेका छन् । जसमा ९० वटा संस्थाहरुको सहभागीता रहेको छ । मेलमा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेवी कर्मशियल सवारी साधनहरु प्रदर्शनीमा राखिएको छ ।

हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे गाडीहरु प्रदर्शनीमा छन् । यस्तै टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ । सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि राखिएको छ । प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्