Logo

क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी



नेता होइन, देश सन्तुष्ट हुने गरी प्रतिवेदन तयार : कमलनारायण

भदौ १४, काठमाण्डौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगका संयोजक कमलनारयण दासले दिएको जानकारी अनुसार आजै साँझ पाँच बजे प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । ऋषि धमलासँग कुरा गर्दै संयोजक दासले प्रधानमन्त्रीले वालुवाटारमा ५ बजे भेट्ने कार्यक्रम राखेको बताए ।


धमलासँग कुरा गर्दै दासले आफुहरुले देशको भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरेकोले सबै खुशी हुने दाबी गरेका छन् । उनले भने, हामीले देशलाई खुशी बनाउने गरी काम गरेका छौँ । कुनै दल वा नेतालाई खुशी बनाउन काम गरेका होइनौँ ।
सरकारले दिएको दिएको जिम्मेवारी इमानदारिताका साथ पालना गरेको भन्दै दासले रातदिन नभनी निकै मिहिनेत गरेर निर्वाचन क्षेत्र निर्धारण गरिएकाले सबै सन्तुष्ट हुने विश्वास लिएका छन् । विवादरहित बनाउनका लागि धेरै मिहिनेत गरिएको दासले बताए ।
सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमल नारायण दासको अध्यक्षतामा गत साउन ५ गते निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो ।
दासको अध्यक्षतामा पाँच सदस्सीय आयोग गठन भएको थियो ।
आयोगका अन्य सदस्यमा विश्वकल्याण पराजुली, माधव अधिकारी, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् । आयोगलाई २१ दिनभित्र काम सम्पन्न गर्न जिम्मा लगाइए पनि समय नपुगेको भन्दै आयोगले १५ दिन थपेर प्रतिवेदन तयार पारेको हो ।

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?
१० वटा निर्वाचन क्षेत्र भएको जिल्लाः १, काठमाडौँ छवटा निर्वाचन क्षेत्र भएको जिल्लाः १, मोरङ पाँचवटा निर्वाचन क्षेत्र हुने जिल्लाः ५, झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली चारवटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लाः ७, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, बारा र पर्सा तीनवटा निर्वाचन क्षेत्र हुने जिल्लाः ७, कास्की, बाँके, कञ्चनपुर, चितवन, दाङ, कपिलवस्तु र ललितपुर दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाः १९, इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, तनहुँ, गोरखा, गुल्मी, बर्दिया, दैलेख, स्याङ्जा, बागलुङ, सुर्खेत, भक्तपुर, मकवानपुर, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाः ३७, सोलुखुम्वु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, बाजुरा, म्याग्दी, डडेल्धुरा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, बझाङ, पाँचथर, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, अर्घाखाँची, रोल्पा, प्यूठान, लमजुङ, सल्यान, जाजरकोट, अछाम, डोटी, बैतडी, पर्वत, पूर्वी रुकुम र पश्चिम रुकुम

निर्वाचन मिति तय
सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि दोस्रो चरणको निर्वाचनको मिति तोकेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो । सरकारले यसअघि दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । अब मंसिर १० गते पहिलो चरण र २१ गते दोस्रो चरणको निर्वाचन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्