Logo

राजनेताहरुलाई संघियता वाक्नु न निल्नु भएको छ : चित्रबहादुर केसी



पहिलेदेखि नै संघियताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता कुनै पनि हालतमा सफल नहुने दाबी गर्दै आएका छन् । संघियताको मोडल अनुसार स्थानीय तहको चुनाव सकिनै लागेको छ । संसद र प्रदेशको चुनावको तयारी पनि तिब्र रुपमा भइरहेको छ । अब संघियता सफल हुँदैन भन्ने कुराको औचित्य के छ त ? यही विषयमा केन्द्रित रहेर अध्यक्ष चित्रबहादुर कसीसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा यहाँको पार्टी कसरी प्रस्तुत हुँदैछ ?
निर्वाचनमा भाग लिने र सकेसम्म जित्ने उद्देश्य छ ।

नेपालमा साना पार्टीको औचित्य नै सकिएको जस्तो देखिन्छ नि ?
संसदमा जाने भए मात्रै औचित्य हुने नत्र नहुने भन्ने होइन ।

तपाईहरुले ३ प्रतिशत मत ल्याउने सम्भावना ज्यादै कम छ । प्रतिनिधिसभाको चुनावपछि के गर्नुहुन्छ ?
सिन्डिकेटवाला ठूला पार्टीहरुलाई स्थानीय निकायको चुनावमा पनि साना दलहरु नआउन भन्ने थियो । तर हाम्रो उपस्थिती रह्यो । केही स्थानीय तहमा हामीले पनि चुनाव जितेका छौँ ।

तर ज्यादै कम ठाउँमा जित्नुभएको छ ।
धेरै ठाउँमा जित्नका लागि त सत्ता, पैसा र शक्ति चाहिन्छ । हामी मनी र मसलतिर लागेनौँ । मनी र मसलको प्रयोगले नै देशको यो हालत भएको छ । जनताको संसद, न्यायपालिका र सरकारप्रति विश्वास छैन । मनी र मसलले जित्ने भएकाले देश अप्ठ्यारोमा परेको छ ।

तपाईं संघियता विरोधी । अहिले संघियता लागु भइसक्यो । कसरी हेर्नुभएको छ ?
संघियता काठमाण्डौमा त लागु हुन सकेको छैन । संघियताले गर्दा नै देशको अवस्था विग्रिएको छ । राजधानीका सडकको खाल्डा पुर्न नसक्ने र फोहर फाल्न नसक्ने संघियताको के काम ? संघियता सफल हुन्छ भन्ने भ्रम नराख्नुस् ।

तर संघियता त कार्यान्वयन भइसक्यो नि ?
जान त ११ वर्ष पहिलेदेखि गएको हो नि । संघियताले जनतालाई फल दिन सक्छ भन्ने कुरा त संघियताका ठेकदारलाईसमेत छैन । संघियता वाक्नु न निल्नु भएको छ राजनेताहरुलाई । स्थानीय निकायको चुनाव भएको चार महिना भइसक्यो । कर्मचारी जान मानेका छैनन् । भौतिक संरचनाको थलो छैन । कर्मचारी गएर झोला राख्ने ठाउँ छैन । यस्तै हो संघियता लागु भएको ? भन्नलाई त पैसा तिर्न पर्दैन ।

आजको दिनमा संघियता, गणतन्त्री देशको आवश्यकत होइन र ?
गणतन्त्र र लोकतन्त्र नेपालको आवश्यकता हो । तर संघियता होइन । किनकी संघियता कार्यान्वयन गर्नै सक्दैनन् ।

स्थानीय निकाय, प्रदेश र संसदको चुनाव संघियता कार्यान्वयनका लागि होइन र ? चुनावमा तपाई पनि सहभागि हुनुभएकै छ ।
नेपालमा प्रजातान्त्रिक विकेन्द्रिकरण गरेर जनतालाई अधिकार दिनका लागि त संघियताको नाम राख्नै पर्दैन नि ।

संघियताको विरोध गर्दा जनमत त पाउनुभएन नि ?
जनमत भएन भन्दैमा संघियता ठिक छ र सफल हुन्छ भन्ने होइन । संघियताको नतिजा त भोग्न बाँकी नै छ । संघियताले विखण्डन ल्याउन सक्छ । २ नम्बर प्रदेशलाई कसैले आफ्नो आधार इलाका बनाइसके । अरु पार्टीलाई जानै नदिने नीति लिएका छन् । २ नम्बर प्रदेशलाई पहाडबाट अलग गरिसके । बेग्लै देश हो भन्न थालिसके । आर्थिक रुपले पनि संघियता कार्यान्वयन गर्न गारो छ । सासंद र प्रशासनको संख्या बढ्दा कार्यान्वयनको पाटो जटिल छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएको छ । यसमा यहाँको धारणा के छ ?
कहाँ कसरी क्षेत्र निर्धारण गरिएको छ, त्यो हेर्न बाँकी छ । छिटै निर्वाचन क्षेत्र घोषणा हास् भन्ने त हामीले पनि चाहेको हो ।

अबको चुनावमा तालमेलको योजना कस्तो छ ?
कहाँ कसरी चुनावी तालमेल गर्ने भन्ने निश्चित छैन । कुनै पनि दलसँग चुनावी तालमेलका लागि कुरा भएको छैन । केही दलसँग सामान्य छलफल भएको थियो । तर अरुको बुई चढेर संसदमा जाने र राजनीति गर्ने कुरा ठूलो होइन ।



प्रतिक्रिया दिनुहोस्