Logo

एमाले नेता भन्छन्, निर्वाचन आयोग निरिह प्राणी, राजपाका नेतालाई काठमाण्डौ बस्न नदिने चेतावनी, विमलेन्द्र निधीमाथि पैसा बाँडेको आरोप



प्रदेश नम्बर २ को निर्वाचन नजिकिदै गर्दा दलहरु आक्रामक रुपमा चुनावी अभियानमा छन् । दलहरुबिचको ध्रुविकरण पनि स्पष्ट देखिएको छ । आरोप–प्रत्यारोप चलिरहेको छ । प्रदेश र संसदको निर्वाचन मिति पनि तय भएको छ । यिनै विषयमा केन्द्रित रहेर नेकपा एमालेका नेता राजेन्द्र पाण्डेसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्वाचनको मितिका सम्बन्धमा एमालेको विमति हो ?
निर्वाचनको मिति जस्तो कुरामा प्रमुख प्रतिपक्षसँग छलफल भएन । यो चाँही सरकारको कमजोरी हो भन्ने हाम्रो मान्यता हो । ठ्याक्कै मिति घोषणा गर्ने बेलामा हामीसँग सल्लाह भएन ।

निर्वाचन त राष्ट्रिय एजेण्डा हो । तपाईहरुले पनि निर्वाचन हुनुपर्छ भन्नुभएको होइन ?
हामीले सुरुदेखि नै माघ ६ गतेभित्रै प्रदेश र संसदको चुनाव हुनुपर्छ भनेर भन्दै आएका छौँ । सरकारलाई झकझक्याउने काम पनि धेरै ग¥यौँ । त्यसैले निर्वाचन गराउने कुरामा हाम्रो असहमति छैन । चुनावमा त जानै पर्छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति यहाँहरुको धारणा के हो ?
निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन मैले राम्रोसँग पढ्न पाएको छैन । आयोगका एक सदस्य विश्वकल्याण पराजुलीले नै असहमति जनाउनुभएको छ । जनसंख्यालाई मात्र महत्व दिइएकोमा उहाँको असन्टुष्टी छ । संविधान अनुसार भूगोलका आधारमा पनि निर्वाचन क्षेत्र बनाउनुपथ्र्यो । जनसंख्याको आधारमा मात्र क्षेत्र निर्धारण गरिएकोप्रति हाम्रो पनि असहमति छ ।

प्रदेश नम्बर २ मा त यहाँहरुलाई चुनाव लड्न पनि गारो देखिएको छ नि ? शीर्ष नेताहरुमाथि नै आक्रमण भएको छ ।
केही गारो छैन । आक्रमण हुनु राम्रो कुरा होइन । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले त्यहाँका जनतालाई उचाल्ने र एमालेमाथि प्रहार गर भन्दा उनीहरुलाई पनि बस्ने ठाउँ चाहिएला नि । उनीहरु बस्ने त काठमाण्डौ नै हो नि । यस्तो खालको व्यवहार गर्नु गलत हो । हामी पनि चुप लागेर बस्दैनौँ । हुन त मधेशी नेताहरुबिच पनि त्यहाँ पिटापिट छ ।

तपाईहरुले संविधान संशोधनमा किन सहयोग नगर्नुभएको त ?
हामीले संविधान संशोधन आजको आवश्यकता होइन । पहिला कार्यान्वयन गरौँ, पछि आवश्यकता अनुसार संशोधन गरौँ भनेर त भनिरहेका छौँ । सरकारले पनि एमालेलाई बदनाम गराउनका लागि संशोधन प्रस्ताव ल्याएको हो । एमालेले गर्दा संविधान संशोधन हुन सकेन भनेर सन्देश दिनका लागि प्रस्ताव गरिएको हो । वास्तवमा मधेशी जनताको हक अधिकार संविधानले सुनिश्चित गरिसकेको छ । मधेशीले बोल्दै नबोल्ने हिन्दी भाषा किन चाहियो ?

प्रदेश नम्बर २ मा कुन दलसँग चुनावी तालमेल हुन्छ ?
नेपाली कांग्रेसबाहेक अरु कुनैपनि दलसँग तालमेल हुन सक्छ । कांग्रेसका नेताहरुले त एमालेलाई सिध्याउने भन्दै हिँडेका छन् । बोरामा पैसा ल्याएर एमालेलाई सिध्याउने भन्दै हिँडेका छन् ।

निर्वाचन आचारसंहिता पनि छ । त्यसरी पैसाको प्रयोग गर्न सम्भव छ र ?
आचारसंहिता त हेर्दै जाऊँ । निर्वाचन आयोगका साथीहरु निरिह प्राणी जस्तै लाग्छ । निर्वाचन आयोग कडा बन्न सकेको छैन । प्रधानमन्त्रीको सामुन्ने विमलेन्द्र निधीले खुलेआम भन्नुभएको छ, “बोरामा पैसा ल्याइन्छ । एमालेलाई मधेशबाट सिध्याउनुपर्छ ।” तर उहाँले सिध्याएर हुने होइन । मधेशका जनता छन् नि ।

कसरी ल्याउँछन् बोरामा पैसा । सम्भव छ ?
उहाँहरुले कहीँ जम्मा गरेका होलान् नि ।

प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवार तय गर्नुभयो ?
लगभग तय भइसकेको छ । आज सबै उम्मेदवार टुङ्गो लगाइन्छ ।



प्रतिक्रिया दिनुहोस्