Logo

विश्वकप छनौटमा उरुग्वे र अर्जेन्टिना बराबरी



काठमाडौं, १६ भदौ । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा कठिन अवस्थामा रहेको अर्जेन्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।उरुग्वेसँगको बराबरीपछि अर्जेन्टिनाको १५ खेलबाट २३ अंक भएको छ भने उ अंकतालिकाको पाचौं स्थानमा यथावत छ ।

चिलीले पाराग्वेसँग ३–० गोलको पराजय व्यहोरेपछि अर्जेन्टिनाको रातहको स्वास भने फेरेको छ । समान २३ अंक भएपनि गोलअन्तरको आधारमा अर्जेन्टिना चिलीभन्दा पछि पर्दै पाचौं स्थानमा कायमै भएको हो ।

उरुग्वे २४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । शुक्रबार बिहान राष्ट्रिय रंगशालामा चोटग्रस्त सुपरस्टार स्ट्राइकर लुइस स्वारेजलाई आठौं मिनेटमै गुमाएको उरुग्वेले लियोनल मेस्सीको टोलीलाई बराबरीमा रोक्न सफल भयो ।

बार्सिलोनाबाट खेल्दा चोटग्रस्त बनेका स्वारेजलाई उरुग्वेले सुरुवाती टोलीमै उतारेको थियो । तर अर्जेन्टिनी डिफेण्डर ओटामेण्डीसँगको ट्याकलमा पुनः चोटग्रस्त हुँदै उनी मैदान बाहिरिएका थिए ।

खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि अर्जेन्टिनाले गोल गर्न सकेन । दुई पटक प्रशिक्षक परिवर्तन गर्दा पनि लय समाउन नसकेको अर्जेन्टिनाले स्पेनिस टोली सेभियाबाट बोलाएका जर्ज साम्पाओलीको प्रशिक्षणमा पहिलो आधिकारिक खेल खेलेको हो ।

दक्षिण अमेरिकाबाट विश्वकपमा छनौट भइसकेको ब्राजिलले पनि आजको खेलमा इक्वेडरलाई २-० ले हरायो । जितसँगै उसको ३६ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको कोलम्बियाले शुक्रबारको खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । कोलम्बिया तेस्रो स्थानको उरुग्वेभन्दा मात्र एक अंकले अगाडि छ ।

विश्वक छनौटमा अझै तीन चरणका खेलहरु बाँकी छन् । यस्तोमा अर्जेन्टिनाले दुई होम र एक अवे खेल खेल्न बाँकी छ । अर्जेन्टिनाले अर्को साता भेनेजुएलासँग घरेलु मैदानमा खेल्नेछ । त्यस्तै अक्टोबर ५ मा पेरुसँग र अक्टोवर १० मा अन्तिम खेलका लागि इक्वेडर पुग्नेछ ।

९ टोली सम्मिलित विश्वकप दक्षिण अमेरिकी छनौटको शीर्ष चार टोलीले स्वतः रुस विश्वकपमा स्थान बनाउनेछन्, पाचौं स्थानमा रहेको टोलीले एसियाली मुलुकसँग प्लेअफ खेल्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्