Logo

निर्वाचन आयोगप्रति मन्त्रीको आक्रोष, सरकार चलाउने भए सिंहदरबार आए हुन्छ : वीरबहादुर बलायर



देश निर्वाचनमय भएको छ । प्रदेश नम्बर २ को चुनाव नजिकिदै गर्दा दलहरु तिब्र तयारीमा छन् । सरकारले आफ्नै तरिकाले विकासनिर्माणका योजना अघि सारिरहेको छ । निर्वाचन आयोगले आचारसंहिता लागु गराएको छ । यससम्बन्धमा मन्त्री वीरबहादुर बलायरले तिब्र असन्तुष्टी जनाएका छन् । उनै मन्त्री बलायरसँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीका क्रममा भौतिक संरचना विकास र नेपाली कांग्रेसको चुनावी तयारीका विषय पनि उठाइएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सुदूरपश्चिम गएर प्रधानमन्त्रीको नेतृत्वमा महाकाली पुल शिलन्यास गर्नुभयो । कहिलेसम्म पुल बन्छ ?
तीन वर्षभित्र चार लेनको पुल बन्छ । आफ्नै प्रविधि, आफ्नै पैसाबाट यो पुल बनाउन लागिएको हो । यस्तो पुल नेपालमा अहिलेसम्म बनेको छैन । अब बन्छ । अब निर्माण प्रक्रिया पनि अगाडि बढिसकेको छ ।

नेपालमा विकासका योजना धेरै बन्छ । तर काम हुन सक्दैन । किन ?
अहिलेसम्मको ट्रेण्ड गलत छ । ठेक्का लिने तर काम गर्ने परिपाटी मौलाएको छ । तर अब काम गर्नेलाई अवसर दिने र काम नगर्नेको ठेक्का रद्द गर्ने काम म गर्छु । गुणस्तरीय काम नगर्नेलाई कारबाही समेत गर्नुपर्छ । जिम्मेवारी अनुसार काम गर्नैपर्छ ।

नेपालको पूर्वाधार विकासमा भारतको पनि भूमिका छ । भारतले नेपालसँग सडक र रेल संजाल जोड्ने कुरा गरेको छ । रेल संजाल जोड्ने काम कहिले हुन्छ ?
अहिले छलफलको प्रक्रियामा छ । म त नेपाल आफैले रेल किन्नुपर्छ भन्ने मान्यतामा छु । अहिले हामीले ३५ किलोमिटर रेलको बाटो निर्माण सम्पन्न गरिसकेका छौँ । अब २ वर्षभित्र ६८ किलोमिटर बनाइन्छ । बाटो बनाएर मात्रै हुँदैन । त्यसका लागि नेपाल आफैले रेल किन्नुपर्छ भन्ने कुरामा छलफल भएको छ । मन्त्रीपरिषदमा आफ्नै रेल किन्ने प्रस्ताव लैजाँदैछु ।

फरक प्रसंग, निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मन्त्रीसहित सबैलाई निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । तपाईले आचारसंहिता उल्लङ्घन गर्नुभएको छैन ?
निर्वाचन आयोगले किन आचारसंहिता भन्यो थाहा छैन । यो मुलुक कसले संचालन गर्ने हो भन्ने कुरा पनि यो आचारसंहिताले देखाएको छ । कुन मापदण्डलाई आधार बनाएर आचारसंहिता बनाएको हाम्रो पनि प्रश्न छ । निर्वाचन आयोगलाई सरकारको पनि प्रश्न छ । कति दिनमा कुन निर्वाचनलाई कसरी आचारसंहिता लाग्ने हो स्पष्ट हुनु जरुरी छ ।

आचासंहिताप्रति तपाईहरुको असन्तुष्टी हो ?
निर्वाचन आयोगले आचारसंहिता लगाएको भन्ने मलाई थाहा छैन ।

आचारसंहिता लगाएको मन्त्रीहरुलाई नै थाहा छैन ?
थाहा छैन मलाई । उल्लङ्घन पनि गरिएको छैन । पैदलयात्रामा छु । तर आचारसंहिता कहिले लाग्ने हो र कुन निर्वाचनका लागि लागेको हो मलाई थाहा छैन । वर्षैभरी आचारसंहिता लगाउने हो भने हामीले के गर्न सक्छौँ । वषैभरी नै हामीलाई बन्दी बनाएर देशको उन्नति कसरी हुन्छ ? मंसिर १० गते निर्वाचन हुँदैछ । आचारसंहिता चाँही कहिलेदेखि लाग्ने हो ?

निर्वाचन आयोगले त चुनावको मिति घोषणा भएपछि सरकार हामी चलाउँछौँ भनेको छ । मन्त्रीहरुले जथाभावी बोल्न पाउँदैनन् भनेर आयोगका पदाधिकारीले भनेका छन् । यस विषयमा तपाईं के भन्नुहुन्छ ?
निर्वाचन आयोगले सरकार चलाउने भए सिंहदरबार आए हुन्छ । यसमा मेरो कडा आपत्ति छ । मध्यरातमा आचारसंहिता लगाएर हामीलाई अप्ठ्यारोमा पारिएको छ ।

आचारसंहिता लगाउने अधिकार आयोगलाई छैन र ?
निर्वाचन आयोगले आचारसंहिता लगाउन पाउँछ । तर स्पष्ट तरिकाले मापदण्ड बनाउनुपर्छ ।

प्रदेश नम्बर २ को चुनावको तयारी के भइरहेको छ ?
नेपाली कांग्रेसले हामीले उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ । कुनै विवाद छैन । प्रदेश नम्बर २ मा हामी पहिलो ठूलो दल बन्छौँ ।

कसरी बन्छ पहिलो पार्टी ?
हामीलाई जनताले पहिलो बनाउँछन् । हामी मधेशीको अधिकारप्रति समर्पित पार्टी हौँ ।

सबै दलले हामी मधेशीको अधिकारप्रति सकारात्मक छाँै । जनताले हामीलाई भोट दिन्छन् भनेका छन् । जनताले कसका कुरा पत्याउने ?
जसको कुरामा विश्वास लाग्छ उसैको कुरा पत्याउनुपर्छ । कांग्रेस त यो देशको धरोधर, मेरुदण्ड र इतिहास हो । कांग्रेस कमजोर भयो भने देश धरापमा पर्छ । यो कुरा मधेशी जनताले बुझेका छन् ।



प्रतिक्रिया दिनुहोस्