Logo

ठूला ठूला नेताहरुले पनि हुकिङ गरेर विजुली प्रयोग गरेको सुचना आएको छ : महेन्द्रबहादुर शाही, उर्जामन्त्री



नेपाललाई लोडसेडिङमुक्त बनाउने योजना सफल हुन सकेको छैन । प्रदेश नम्बर २ र भैरहवा क्षेत्रमा अझै पनि लोडसेडिङ कायम छ । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत प्रशारण सामग्रीको क्षमता कमजोर भएकाले र विद्युत् चोरी बढेकाले ति क्षेत्रमा लोडसेडिङ हटाउन नसकिएको बताएका छन् । समस्या समाधानका लागि मन्त्रालयले के गरिरहेको छ त ? नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग कुराकानी गरिएको छ । ऋषि धमलाले गर्नुभएको अन्तरवार्ताको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ मा अझै पनि लोडसेडिङ कायम छ भन्ने जनगुनासो आएको छ । त्यस क्षेत्रमा किन लोडसेडिङ भइरहेको छ ?
मधेशमा लोडसेडिङ छ । तर विद्युत्को पावर कम भएर लोडसेडिङ भएको होइन । प्राविधिक समस्याले लोडसेडिङ भएको हो । विद्युत् प्रशारण लाइनको क्षमता कम छ । अर्कोतिर ट्रान्सफर्मर र सबस्टेशनको क्षमता कम भएकाले लोडसेडिङ भएको हो । ढल्केबरको सवस्टेशन बनेपछि समस्या समाधान हुन्छ ।

जनकपुर क्षेत्रमा अहिले पनि १८ घण्टा लोडसेडिङ छ । यसलाई कसरी हटाउनुहुन्छ ?
प्रशारणसँग सम्बन्धित क्षमता कम भएर नै लोडसेडिङ भएको हो । विद्युत् कम भएर लोडसेडिङ भएको होइन । अब हामीले तत्काल ग्रिड प्रशारण लाइनको क्षमता वृद्धि गछौँ । ट्रान्सफर्मर पनि फेरेर धेरै क्षमताको राख्न लागेका छौँ ।

तपाईहरुले नेपाललाई लोडसेडिङमुक्त बनाउने एजेण्डा अघि सार्नुभयो । तर किन सफल हुन सकेन ? किन भाषण मात्रै गर्नुहुन्छ ?
अरु सबै ठाउँमा लगभग लोडसेडिङ हटाइसकेका छौँ । अहिले भैरहवामा ४ घण्टा जति लोडसेडिङ छ । २ नम्बर प्रदेशको पुर्वि क्षेत्रमा लोडसेडिङ भइरहेको छ । हामीले विद्युतको व्यवस्थापन गर्न सकेका छैनौँ । अर्को समस्या भनेको चुहावट हो । त्यस क्षेत्रमा अत्याधिक विद्युत् चुहावट भइरहेको छ । हुकिङ गरेर विजुली चोर्ने काम भइरहेको छ ।

तपाई त उर्जामन्त्री हो नि । विद्युत् चुहावट रोक्ने साहस गर्नुपर्दैन ?
विद्युत् चुहावट रोक्न र त्यसमा संलग्नलाई कारबाही गर्नका लागि मैले कर्मचारीहरु खटाएको छु । म पनि त्यस क्षेत्रको भ्रमणमा जाँदैछु । प्रहरी प्रशासनलाई पनि सहयोगका लागि आग्रह गरेको छु । ठूला ठूला नेताहरुले पनि हुकिङ गरेर विजुली प्रयोग गरेको सुचना आएको छ । मिटरभन्दा बाहिरबाट नेताहरुले नै विजुली प्रयोग गरेको पाइएको छ । त्यसैले त्यस क्षेत्रका जनता र राजनीतिक दलका नेताहरुले पनि विद्युत आपूर्ति सहज बनाउनमा सहयोग गर्नु जरुरी छ ।

तपाईले कुनै कदम चाल्न सक्नुहुन्न ?
मैले विद्युत् चुहावट नियन्त्रणका लागि कर्मचारीलाई निर्देशन दिइरहेको छु । नयाँ कर्मचारीको सेटिङ गरेर पनि पठाएको छु । चुहावट नियन्त्रणका लागि कार्यक्रम र योजना बनाइरहेको छु ।

जनता जान्न चाहन्छन्, तपाई भन्नुस् त, २ नम्बर प्रदेशमा कहिलेसम्म लोडसेडिङमुक्त हुन्छ ?
सबै जनताको घरघरमा गएर उर्जामन्त्रालयले डिउटी गर्न सक्दैन । अहिले हामी लोडसेडिङ हटाउनका लागि काम गरिरहेका छौँ । ठ्याक्कै यति समयभित्र भनेर म भन्न सक्दिन । त्यस क्षेत्रका जनता र नेताहरुले पनि विद्युत् चोरी रोक्नुपर्छ ।

तपाईं मन्त्रीको हैसियतले विद्युत् चोरी गर्नेलाई कारबाही गर्न सक्नुहुन्न ?
मैले प्रत्येक व्यक्तिको निगरानी राख्न सक्दिन । यो त सम्भव नै छैन ।

मन्त्रालय र विद्युत् प्राधिकरणका कर्मचारी के हेरेर बसेका छन् ?
हाम्रो जनशक्तिले काम गर्न सकेको छैन । त्यसैले जनता र राजनीतिक दलको पनि सहयोग चाहिन्छ । हाम्रा कर्मचारी पनि जिम्मेवारी अनुसार खटिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्