Logo

सुर्यकुमार क्षेत्री मिडियाकप फुटसल प्रतियोगिता सुरु, रिपोर्टर्स क्लबद्धारा पत्रकार राईको उपचारको लागि २५ हजार सहयोग



काठमाडौ, १८ भदौ । पत्रकार तथा गितकार स्वर्गिय सुर्यकुमार क्षेत्रीको स्मृतिमा आज देखि मिडियाकप फुटसल प्रतियोगिता सुरु भएको छ ।

ललितपुरको भैसेपाटीमा रहेको गोलपोष्ट फुटसलमा सुरु भएको प्रतियोगिताको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र रिर्पोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले संयुक्त रुपमा गरेका छन् ।

दोस्रो पटक हुन लागेको प्रतियोगितामा विभिन्न १० वटा संचार माध्यमहरुले भाग लिएको महासंघका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

पहिलोपटक गत बर्ष आयोजना गरिएको प्रतियोगिताबाट उठेको रकम पत्रकार क्षत्रीको छोराको अध्ययनका लागि सहयोग गरिएको र अहिले उठ्ने रकम अर्का पत्रकार संजयसन्तोषी राईको उपचारका लागि सहयोग गरिने उनले बताए ।

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया आजै काठमाडौँको शिक्षण अस्पतालमा हुँदैछ । उनको उपचारको लागि रिपोर्टर्स क्लब नेपालले आज २५ हजार सहयोग रकम हस्तान्तरण गरेको छ । क्लबका सभापति एवम् पत्रकार ऋषि धमलाले उक्त सहयोग रकम महासंघका सभापति आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

उद्धघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार धमलाले भने,‘यस्तो प्रतियोगिता गर्नु अत्यन्तै राम्रो हो, पत्रकारको सहयोगको लागि जुन किसिमले यो प्रतियोगिता आयोजना गरियो, यसले सबैको मन जित्न सफल भएको छ, आगामी दिनमा समेत यस्ता खाले प्रतियोगिताहरु आयोजना गर्नुपर्छ।’ यद्धपी धमलाले प्रतियोगितालाई स्वस्थ प्रतिष्पर्धाको रुपमा अघि बढाउन समेत सुझाए ।

त्यस्तै पत्रकार महासंघका सभापति आचार्यले पनि प्रतियोगिता आयोजना गर्नु प्रंशनीय भएको बताए । उनले पनि पत्रकार राईको उपचारको लागि महासंघले जस्तोसुकै सहयोग गर्ने वचन दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार र द्धतिय हुनेलाई २५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । यसअघि गत बर्ष भएको पहिलो प्रतियोगितामा इमेज च्यानल पहिलो र नेपाल टेलिभिजन दोस्रो भएका थिए ।

झण्डै डेढ दशक पत्रकारिता गरेका युवा पत्रकार क्षेत्रीको ‘ब्रेन ट्युमर’ का कारण गत बर्ष बैशाखमा निधन भएको थियो । २०७१ मंसिरमा ‘ब्रेन ट्युमर’ देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भरिएपनि सफल हुन सकेको थिएन ।

स्याङजामा जन्मिएर पाल्पा, बुटवल हुँदै काठमाडौलाई पत्रकारिताको कर्मथलो बनाएका क्षेत्री प्रेस युनियनका सचिव समेत थिए ।

उनका श्रीमती र छोरा काठमाडौमै बस्दै आएका छन् भने परिवारका अन्य सदस्य गृहजिल्ला स्याङजामै बस्दै आएका छन् । क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा स्थापित सर्जक पनि थिए ।



प्रतिक्रिया दिनुहोस्