Logo

कर्णाली सुनको डल्लो हो, सुनारको खाँचो छः मन्त्री शाही



धनराज वास्तविक

काठमाडौं, २० भदौ । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीलाई सुनको डल्लोको उपमाको रुपमा सम्बोधन गरेका छन् ।राजधानीको भृकुटिमण्डपमा साँस्कृतिक संस्थान र कर्णाली समाजको आयोजनामा आयोजित एकदिने कर्णाली वृहत सास्कृतिक उत्सवमा बोल्दै मन्त्री शाहीले यस्तो बताएका हुन ।

मन्त्री शाहीले भने,‘कर्णाली सुनको डल्लो हो, यसलाई विभिन्न गरगहना र आकार दिने सुनार चाहिएको छ, त्यो सुनार हामीले बन्नुपर्छ, आकार दिनको लागि हामी तयार रहनुपर्छ।’

कर्णालीमा फापर, कोदो, पाँचऔले, यार्सागुम्बा फल्छ भन्ने कुरा सबैलाई जानकारी भएको र अबका दिनमा कर्णाली डलर फलाउनुपर्नेमा मन्त्री शाहीले जोडदिए ।

उनले भने,‘कर्णाली गरिब छैन्, हामीले निहुरिएर हिड्नुपर्ने अवस्था छैन्, हामीसँग तमाम सम्भावना छन्, यस्ता सम्भावनालाई उजागर गर्नुपर्छ, हाम्रो कर्णाली खुल्ला विश्वविद्यालय हो, कर्णालीमा पुगेर धेरै विद्यार्थीहरुले मास्टर डिग्री र विद्यावारिधिका थेसिस लेखिरहेका छन्, अब कर्णाली बन्न धेरै समय लाग्ने म चाही देख्दिन।’

मन्त्री शहीले अघि थपे,‘बरु हामीले अरुलाई गालि दिनुको साटो काम गर्नुपर्छ, विकासको काममा बाधक बन्नु हुँदैन, विकास निमार्णका लागि खोलिने समुह खोल्दाखेरी वैकल्पिक समुह निमार्ण गर्नु हुँदैन, कर्णालीमा पठाएको वजेट फ्रिज भैरहेको छ, त्यसको सदुपयोग हामीले किन नगर्ने? हाम्रो कम्जोरीको फाईदा अरुले उठाई राखेको चाहि छन्।’

कर्णालीका ४ वटा जिल्लामा भरखरै घुमेर आएको बताउदै मन्त्री शाहीले कर्णालीको वृहत विकासको लागि आफु गम्भिर र ईमान्दारीताका साथ लागिरहेको बताए ।

मन्त्रीशाहीले कर्णालीका यूवा विद्यार्थीहरुले विदेश ताक्नु गलत भएको भन्दै राजधानीमा आएर सिकेको सिपलाई जन्मभूमिमा प्रयोग गर्न आग्रह गरेका छन् । मन्त्री बनेको थोरै समयमै ख्याति कमाएका मन्त्रीशाहीले भाषण गर्ने भाषण विध धेरै भएको र कामगर्ने मानिसको खडेरी परेको टिप्पणी गरे । तस्बिर – धनराज वास्तविक

 



प्रतिक्रिया दिनुहोस्