Logo

यस्तो देखियो इन्द्रजात्रा-(फोटोफिचर)



काठमाडौँ, २० भदौ । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा परम्परागत इन्द्रजात्रा पर्व मनाइएको छ। वर्षेनी भाद्र शुक्ल चतुर्दशीमा पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।

जात्राको पहिलो दिन आइतबार बिहान सवा आठ बजे हनुमान ढोका अगाडि लिंगो उठाएर नाचगान गरिएको थियो। आइतबारै बेलुका ८ बजे कुमारीलाई हनुमानढोका लगेर पूजा गरी फर्काइएको छ ।

जात्रा सुरु भएसँगै विभिन्न देवी–देवतालाई आठ दिनसम्म किलागलस्थित हलचोक आकाश भैरव गुठीमा राखिन्छ । जात्रा नसकिएसम्म देवी–देवतालाई त्यहीँ राखेर पूजा गर्ने चलन रहेको छ।

जात्राको पहिलो दिनदेखि अन्तिम दिनसम्म विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्ने गरिन्छ । आइतबार हनुमानढोका आसपासमा लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइएको छ।

जात्रा सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा गरिन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोका क्षेत्र हो। इन्द्रजात्रामा राष्ट्र प्रमुखले दुईपटक दर्शन र प्रसाद ग्रहण गर्नुपर्ने नियम छ ।

उपत्यकाका अन्य जात्राजस्तै इन्द्रजात्राका पनि किंवदन्ती छन् । त्यसमध्ये सबैभन्दा चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए । उनी काठमाडौं उपत्यका आइपुगे । एउटा बगैँचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पसे ।

बगैंचामा पसेको चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। छोरो काठमाडौंमा बाँधिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी उनलाई फर्काएर लगिन् । त्यसैको सम्झनामा इन्द्रजात्रा सुरु गरिएको धेरैको भनाइ छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रहँदै आएको छ।

सबै तस्बिरहरु: मुकुन्द कालिकोट



प्रतिक्रिया दिनुहोस्